विराटनगर । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगरले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) ल्याबको सामग्री दिएको छ ।
ल्याब निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउने योजनाअनुसार विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयलाई बिहीबार १२ थान लेनोभो अल इन वन कम्प्युटर, १ थान प्रिन्टर, १२ थान युपीएस, १२ थान एन्टिभाइरस, १ थान एपी राउटर लगायत अन्य सामग्रीहरू हस्तान्तरण गरिएको टेलिकमले जनाएको छ ।
उक्त सामग्रीहरू नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगरका निर्देशक बिमलेश झाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाह तथा प्रधानाध्यापक चिन्तामणि रिजाललाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा टेलिकम प्रादेशिक निर्देशनालय विराटनगर तथा दूरसञ्चार कार्यालय विराटनगरका विभिन्न तहका कर्मचारीहरू र विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
कम्पनीले कोशी प्रदेशका विभिन्न स्थानमा रहेका आठवटा विद्यालयहरूलाई आईसीटी ल्याब निर्माणका लागि माथि उल्लेखित सामग्रीहरूकै संख्यामा उपलब्ध गराउने योजना अनुरूप छवटा स्थानका विद्यालयहरूमा सामग्री हस्तान्तरण कार्य सम्पन्न भइसकेको बताइएको छ ।
मुलुकका विभिन्न स्थानमा नवीनतम सञ्चार प्रविधि उपलब्ध गराउने कार्यमा सधैं प्रतिबद्ध रहेको र समाजका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू विगतमा पनि गर्दै आएको निर्देशक झाले कार्यक्रममा जानकारी गराएका थिए ।
View : 382
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved