विराटनगर । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक (आइजीपी) मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख रहेका खापुङ भदौ १९ गतेदेखि आइजीपी हुनेछन् । वर्तमान आइजीपी दीपक थापा ३० वर्षे सेवा अवधिका कारण भदौ १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाश हुँदैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व सुरक्षा प्रमुखसमेत रहेका खापुङ यसअघि कोशी प्रदेश प्रहरीको प्रमुखका रुपमा कार्यरत थिए । प्रधानमन्त्री ओली चीन भ्रमण सकेर भदौ १८ गते फर्किएपछि खापुङले दर्ज्यानी पाउने छन् ।
संसदमा विचाराधीन प्रहरी विधेयक पारित नभएको खण्डमा नवनियुक्त आइजीपी खापुङले करिब तीन महिनाका लागि मात्रै आइजीपीको फुली लगाउने छन् । सेवा अवधिका कारण खापुङ आउँदो मंसिर २३ गतेसम्म मात्रै आइजीपीमा हुन पाउने छन् ।
२०२७ मंसिर २३ गते तेह्रथुमको मेन्छ्यायोम गाउँपालिका-६ मा जन्मिएका खापुङ नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा २०५२ कात्तिक २७ देखि सेवा प्रवेश गरेका थिए ।
खापुङले प्रहरी निरीक्षक हुँदा मोरङको इलाका प्रहरी कार्यालय बेलबारीको समेत कमाण्ड सम्हालेका थिए ।
२०८० वैशाख ६ मा प्रहरी नायब महानिरीक्षक (डीआइजी) बनेका उनी कोशी प्रदेश प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन् । प्रहरी नायब महानिरीक्षक रहँदा नै उनी २०८१ मंसिर २७ मा सीआइबी प्रमुखमा सरूवा भएका थिए । २०८२ वैशाख ४ मा एआइजीमा पदोन्नति भए ।
View : 499
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved