किन भयो गाडी आगजनीको घटना ?
आइतबार महेन्द्र मोरङका विद्यार्थीहरुले आगजनी गरेको प्रदेश योजना आयोगको गाडी र क्याम्पसको गेट बन्द गरेर भित्र बसेका आन्दोलनकारी विद्यार्थीहरु । तस्वीर : नविन कर्ण/उद्घोष
विराटनगर । आइतबार विराटनगर–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सोही क्याम्पसका केही विद्यार्थीहरूले सरकारी गाडीमा आगजनी गरे । गृहमन्त्री रवि लामिछाने सहभागी हुने एउटा सरकारी कार्यक्रममा जिल्लाको सुरक्षा संयन्त्र केन्द्रीत हुँदा विद्यार्थीहरुको आन्दोलनको उचाईबारे सुरक्षा निकाय बेखरजस्तै देखियो । जसका कारण विद्यार्थीहरुले के गर्दैछन् भन्ने कुरा सुरक्षा संयन्त्रले थाहा पाउन सकेन ।
सुरक्षा निकायको अनुमानभन्दा बाहिर गएर विद्यार्थीहरुको समुहले आफ्नो आन्दोलनसँग साइनो सम्बन्धै नभएको कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कार्पियोमा आगजनी गरे । उनीहरुले सरकारी कार्यक्रममा सहभागी हुन विभिन्न वितरण केन्द्रबाट आएका नेपाल विद्युत प्राधिकरणका गाडीहरुमा बिना कारण तोडफोड गरे ।
प्रहरीका विद्युत प्राधिकरणको बी–एबी ८१८०, बागमती प्रदेश ०१–००१ ञ २७०१, बा १ ञ २४१९, बाग्मती प्रदेश ०१–००१ ञ २७९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड भएको हो ।
ढुंगामुढाबाट प्राधिकरणको विभिन्न कार्यालयका गाडीको सिसा फुटेका छन् । उनीहरूले गाडीहरूमा पेट्रोल छर्किएर आगजनीको समेत प्रयास गरेको जनाइएको छ ।
राजनीतिक दलका संघसंगठन सम्बद्ध विद्यार्थी नेताहरूसहित क्याम्पसभित्रबाट निस्किएका विद्यार्थीहरूले क्याम्पस अगाडिबाट कार्यालयतर्फ जाँदै गरेको योजना आयोगको गाडीमाथि ढुंगामुढा गर्दै रोकेका थिए ।
उक्त गाडीभित्र आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी समेत रहेको आयोगका प्रवक्ता त्रिलोचन न्यौपानेले जानकारी दिए । स्कार्पियोमा ढुंगामुढा भएपछि अधिकारी उत्रिएर जोगिएको र ढुंगामुढाकै कारण चालक विनोदकुमार थापाले गाडी त्यहीँ छोडेर बाहिर भाग्नुपर्ने अवस्था बनेको उनले बताए ।
सामाजिक सञ्जालमा बाहिरिएको भिडियोमा गाडी तोडफोड र आगजनीमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी नेताहरू देखिएका थिए । उनीहरू सहितको विद्यार्थीको समूहले सरकारी गाडीमा आगजनी गरेको प्रहरी स्रोतले जनाएको छ ।
क्याम्पसबाट निस्किएका विद्यार्थीहरूले गाडी रोकेर आगो लगाएको घटनाको प्रत्यक्षदर्शी सोही क्याम्पस अगाडि पसल रहेका एक पसल सञ्चालकले समेत बताए । आगजनीबाट गाडीमा पूर्ण रुपमा जलेको छ । गाडीमा लागेको आगो दमकलको सहायताले निभाइएको थियो ।
क्याम्पस बाहिर गाडीमा आगजनी र तोडफोड गर्ने कार्यमा संलग्नहरू घटनापछि क्याम्पसभित्र पसेका थिए । क्याम्पस प्रशासनको अनुमति बिना प्रहरी क्याम्पसभित्र नआउने अवस्थाको फाइदा उठाउँदै उनीहरू क्याम्पसको मेन गेट बन्द गरेर भित्रै बसे ।
गाडीमा आगजनी र तोडफोडका क्रममा प्रत्यक्षदर्शीहरूले फोटो भिडियो खिच्न खोज्दा नखिच्न धम्की दिए ।
प्रहरीले गाडीमा आगजनी र ढुंगामुडा गरी क्षति पुर्याउने कार्यमा संलग्नहरूको खोजी गरिरहेको जनाएको छ । त्यसका लागि विभिन्न ठाउँमा सिसी क्यामेराको फुटेज मगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
किन भयो घटना ?
प्रहरीले मोरङको रंगेली नगरपालिकामा बलपूर्वक प्रवेश गरी तोडफोडको प्रयास गरेको र नगर प्रहरीमाथि हातपात गरेको आरोपमा गत बिहीबार महेन्द्र मोरङ क्याम्पसका स्ववियु सदस्य रहेका नेविसंघ कार्यकर्ता दीपककुमार यादवसहित केहीलाई पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै उनीहरूलाई छाड्नुपर्ने माग राखेर आन्दोलित बनेका विद्यार्थीहरूले आइतबार विराटनगरमा गाडीमा आगजनी एवं तोडफोड गरेका हुन् ।
स्ववियु सदस्य यादवसहित विद्यार्थीहरूको समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि कार्यकक्षमै हातपात गरेको सीसीटीभीको भिडियो फुटेजसमेत सार्वजनिक भएको छ ।
ऊक्त समूहको आत्रमणमा परेर नगर प्रहरीहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी मोरङ प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप समेत गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय यादवसहित २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र छन् । विद्यार्थीहरूले भने उनीहरूलाई बिनासर्त छाड्नुपर्ने माग राख्दै आइतबार सरकारी गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।
आगजनीको घटनापछि विद्यार्थीहरू सम्वद्ध ६ वटा संघसंगठनहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रंगेली नगरपालिकाभित्रको शैक्षिक समस्या समाधानका लागि बुझाइएको ज्ञापन पत्रको कार्यान्वयनको अवस्थाबारे जानकारी लिन जाँदा विद्यार्थीहरूलाई नियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । पक्राउ परेका विद्यार्थीहरूको विनासर्त रिहाई नहुञ्जेल चरणवद्ध आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन् ।
पत्रकारहरूमाथि भएको आक्रमणको विरोध
आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि होहल्ला र हुटिङ गर्नुका साथै भौतिक आक्रमण समेत गरेका छन् । उनीहरूले पत्रकारहरूको नामै लिएर गालीगलौज र हुटिङ गर्दै पत्रकारहरूलाई हतोत्साहित बनाउने र समाचार संकलनमा अवरोधको प्रयास गरेका हुन् ।
आन्दोलनका क्रममा विद्यार्थीहरूले पत्रकार नवीन कर्णमाथि महेन्द्र मोरङ क्याम्पसभित्रबाटै ढुंगा प्रहार गरेका थिए । उनीहरूले समाचार संकलनका लागि पुगेका पत्रकार कर्णसहित उद्घोषकर्मी बाबुराम भण्डारी, नागरिक दैनिकका चुमन बस्नेत, कान्तिपुर टिभीकी सुशीला पाठक, हाम्रो विराटनगर डट कमका सन्तोष बास्तोला लगायतका पत्रकारहरूलाई फोटो र भिडियो खिच्ने क्रममा होहल्ला गरेर समाचार संकलनमा अवरोध गर्ने प्रयास गरेका हुन् ।
यसैबीच नेपाल पत्रकार महासंघ मोरङले विज्ञप्तिमार्फत पत्रकारहरूमाथि भएको आक्रमण र होहल्ला गरेर समाचार संकलनमा अवरोध पुर्याएको भन्दै विरोध जनाएको छ ।
महासंघका सचिव नेत्र पी अधिकारीले समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई लक्षित गर्दै ढुंगा प्रहार गर्ने तथा गालीगलौज गरी भिडियो फोटो नखिच्न चेतावनी दिने, पत्रकारहरूविरुद्ध होहल्ला गर्ने जस्ता घटना भएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमार्फत भर्त्सना गरेका छन् ।
‘समाचार संकलनका लागि पुगेका पत्रकारलाई ढुंगा प्रहार गर्नु तथा होहल्ला र गाली गलौज गर्नु स्वतन्त्र प्रेस विरोधी कार्य भएको महासंघ ठहर गर्दछ, घटनामा प्रत्यक्ष संलग्नहरूको तत्काल पहिचान गरी कारवाहीको दायरामा ल्याउन स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
View : 278
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved