Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

केशलिया खोला विराटनगर-१२ र बर्जुतिर पस्यो (फोटो)

‘केशलिया खोलाको पानी नहर हुँदै डम्पिङ साइटतिरबाट ओभरफ्लो भएर आएको छ, अहिले पानी बढिरहेको छ’
उद्‌घोष सम्वाददाता
२५ असार २०८१, मङ्गलवार

केशलिया खोलामा आएको बाढी खोलामा नअटेर ओभरफ्लो भएको छ । अहिले यहि ठाउँबाट केशलियाको बाढी विराटनगर-१२ को बस्तीतिर पसेको छ । तस्वीर: उद्घोष

विराटनगर । विराटनगरको पश्चिममा रहेको केशलिया खोला विराटनगरको वडा नम्बर १२ र सुनसरीको बर्जू गाउँपालिका–२ भिमपुर बस्तीमा पसेको छ । अहिले दुवैतिर पानीको बहाव बढ्दै गएको जनाइएको छ । 

विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार मंगलबार दिउँसो १ बजेदेखि केसलिया खोलामा पानी भरिएर बस्तीमा पसेको जनाइएको छ । बस्तीको पानी नहरमा समेत पसेका कारण जोखिम बढ्दै गएको जनाइएको छ ।

महानगरपालिकाको डम्पिङ साइट नजिकैबाट केशलियाको बाढी बस्तीतिर पसेको हो । नगर प्रहरी प्रमुख पौडेलका अनुसार विराटनगर–१२ मा रहेको सम्पन्न बस्तीसहित त्यस क्षेत्रका टोलहरूमा पानी बढ्दै गएको छ । 

‘केशलिया खोलाको पानी नहर हुँदै डम्पिङ साइटतिरबाट ओभरफ्लो भएर आएको छ, अहिले पानी बढिरहेको छ’ उनले भने, ‘स्थानीयले दिउँसो १ बजेदेखि पानी बस्तीमा आएको जानकारी दिएका छन्, अहिले नगर प्रहरीको टोली प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरेर आवश्यक पर्दा उद्धारको योजना बनाइरहेको छ ।’ 

बस्तीमा पानी पसेपछि साना सवारी साधनको आवागमन प्रभावित भएको छ । वडा नम्बर १२ हुँदै उक्त पानी वडा नम्बर १६ तिर बग्दै गइरहेको जनाइएको छ । बर्जुको भिमपुरमा पनि बाढीले घरहरू डुबानमा परेका छन् । 

 

View : 7516

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved