प्रतिनिधिसभा निर्वाचन
विराटनगर । नेपालको संसदीय राजनीतिमा पछिल्लो दशकमा सबैभन्दा चर्चामा रहेको एउटा राजनीतिक अभ्यास हो, गठबन्धन । २०७४ होस् वा २०७९ , प्रतिनिधिसभाका ती दुवै निर्वाचनमा गठबन्धनकै अभ्यास दलहरूको रोजाइमा पर्यो । उम्मेदवार छनोटदेखि सरकार गठनसम्मको दिशा गठबन्धनले तय गर्यो । १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांश ठाउँमा गठबन्धन नै सफल सावित भयो ।
तर, यही राष्ट्रिय प्रवाहलाई निरन्तर चुनौती दिदै आएको एउटा निर्वाचन क्षेत्र छ, मोरङ २ । मोरङ क्षेत्र नं २, जहाँ दुईपटक गठबन्धनले जित निकाल्न सकेन, बरू मतदाताले गठबन्धनको विपक्षमा मत जाहेर गरेर ‘ब्यालेट’मार्फत दलहरूलाई फरक सन्देश दिदै आएका छन् । त्यसो त तथ्यबाट हेर्दा मोरङ–२ को ‘भोटिङ प्याटर्न’ स्पष्ट देखिन्छ ।
२०७४ को निर्वाचनमा देशव्यापी रूपमा वाम गठबन्धन अपराजित देखिदा पनि मोरङ–२ ले कांग्रेसलाई रोज्यो । एमाले उम्मेदवार ऋषिकेश पोखरेल पराजित भए र कांग्रेसका डा मीनेन्द्र रिजाल निर्वाचित बने ।
त्यसको पाँच वर्षपछि, २०७९ मा समीकरण उल्टिएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर बनेको गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सुजाता कोइरालालाई मतदाताले अस्वीकार गरे । परिणामतः एमालेका पोखरेल ३३ हजार १४८ मतसहित विजयी भए । दुई निर्वाचन, दुई फरक गठबन्धन, तर नतिजा उस्तै रह्यो, मोरङ-२ मा गठबन्धन सफल बन्न सकेन ।
यसपटकको निर्वाचन मोरङ-२ का लागि अझै रोचक हुनेवाला छ । प्रमुख राजनीतिक दलहरूले चुनावअघि गठबन्धन नगरी आ–आफ्नै बलमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । अहिले चुनावी सहकार्यका हल्ला व्यापक भए पनि आजका मितिसम्म कुनै पनि दलले कसैसँग सहकार्य गरिसकेका छैनन् ।
अघिल्ला निर्वाचनहरूमा गठबन्धनलाई अस्वीकार गर्दै आएका मोरङ २ का मतदाताले अब दलको विरासत हेर्लान् कि उम्मेद्वार ? यसले सबैको क्षेत्रमा रहेको स्थानीय पकडलाई तौलने छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ-२ मा राजनीतिक दल र स्वतन्त्र गरी यसपटक १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
एमालेबाट दिलीप बगडिया, कांग्रेसबाट डा मीनेन्द्र रिजाल, नेकपाबाट चन्द्रवीर राई, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कंसराज राजवंशी यो क्षेत्रमा प्रतिष्पर्धामा छन् ।
यसैगरी नेकपा (माओवादी) बाट मेघेन्द्रकुमार रोक्का, जनता समाजवादी पार्टीबाट विनोदकुमार सिंह गनगाई, जनमत पार्टीबाट घनश्याम चौधरी, मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू र श्रम संस्कृति पार्टीबाट अबुहो रैरह पनि प्रतिस्पर्धामा छन् । यद्यपि हालसम्मको चुनावी माहोल हेर्दा मुख्य प्रतिस्पर्धा एमाले, कांग्रेस, नेकपा र रास्वपामै केन्द्रित देखिन्छ ।
एमालेले यसपटक रणनीतिक रूपमा अनुहार परिवर्तन गरेको छ । २०७९ मा जित दिलाएका ऋषिकेश पोखरेललाई दोहोर्याउनुको साटो पार्टीले रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई उम्मेदवार बनाएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा उनले रंगेली नगरका ४७ मध्ये ४६ जना जनप्रतिनिधि एमालेबाट जिताएका थिए । एक जना मात्रै जसपाबाट निर्वाचित हुँदा कांग्रेस त्यहाँ प्रतिनिधिविहीन बनेको थियो ।
२०७४ मा माओवादीबाट मेयर जितेका बगडिया २०७९ मा एमाले प्रवेश गरी पुनः मेयर बनेका हुन् । उद्योगी पृष्ठभूमि, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध र अघिल्ला सांसद ऋषिकेश पोखरेल पत्नी अञ्जला सहकारी ठगी प्रकरणमा मुछिएपछि पोखरेल स्वयं विवादित बन्नुले बगडियाको उम्मेदवारी सुनिश्चित भएको देखिन्छ ।
कांग्रेसका लागि मोरङ-२ राजनीतिक र भावनात्मक दुवै रूपमा महत्वपूर्ण क्षेत्र हो । २०७४ मा वाम गठबन्धनको बलियो लहरबीच कांग्रेसलाई मोरङमा जोगाएका नेता थिए डा मीनेन्द्र रिजाल । तर, २०७९ मा तत्कालीन सभापति शेरबहादुर देउवाको निर्णयका कारण उनी टिकटविहीन बने ।
गठबन्धनका नाममा सुजाता कोइरालाले उनको ठाउँमा टिकट पाइन् तर उनी निर्वाचन जित्न विफल भइन् । यसपटक सभापति गगन थापा नेतृत्वको कांग्रेसले डा मीनेन्द्रलाई पुनः उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनको विषयमा थापा समूहविपरीत उभिएका मीनेन्द्रले टिकट पाउनु कांग्रेसभित्रको शक्ति सन्तुलन परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।
रास्वपाबाट उम्मेदवार बनेका कृष्ण कार्कीले भने निर्वाचन अगावै विवादमा तानिएका छन् । भदौ २४ गते संसद् भवनमा आगजनी हुँदा आफू संलग्न भएको तस्वीर सामाजिक सञ्जालमा राखिएको विषय मोरङमा व्यापक चर्चामा छ ।
त्यसबाहेक जापान बसाइका क्रममा रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै लेखिएको उनको पुरानो फेसबुक स्टाटस पनि अहिले पुनः सतहमा आएको छ । त्यसबेला रविलाई सहकारी ठग भनेका कार्की रविकै दलबाट उम्मेदवार बनेका छन् ।
नेकपाका उम्मेदवार चन्द्रवीर राई भने मोरङका अनुभवी वाम नेता हुन् । सरल र इमान्दार वाम नेताका रूपमा परिचित उनी माओवादीसँग एकता हुनुअघि एकीकृत समाजवादीका मोरङ अध्यक्ष थिए । यसअघिका निर्वाचनको मतसंख्याले पनि मोरङ-२ को प्रतिस्पर्धा कति कडा छ भन्ने देखाउँछ ।
२०७४ को निर्वाचनमा डा मीनेन्द्र रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गरेका थिए भने वाम गठबन्धनका पोखरेलले ३४ हजार १४ मत ल्याएका थिए ।
२०७९ मा पोखरेल ३३ हजार १४८ मतसहित विजयी हुँदा कांग्रेसकी सुजाता कोइराला ३१ हजार ९४० मतमा सीमित भइन् । सो निर्वाचनमा रास्वपाका ठगेन्द्रप्रसाद न्यौपाने ४ हजार ९८७ मतसहित तेस्रो बनेका थिए ।
२०७९ को समानुपातिक मत परिणामले पनि मोरङ–२ मा एमालेको अग्रता देखाएको थियो ।
एमालेले २७ हजार ९१४ मत पाउ“दा कांग्रेसले २३ हजार ३९५, माओवादीले ७ हजार ५३७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ३०१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ८६६ र जनता समाजवादी पार्टी नेपालले १ हजार १८१ मत प्राप्त गरेका थिए । यी तथ्यांकले एमाले अगाडि भए पनि दलहरूबीचको दूरी धेरै टाढा नरहेको देखाउँछ ।
भूगोलका हिसाबले मोरङ–२ झापासँग सीमा जोडिएको रतुवामाई नगरपालिका, सुनवर्षी, नगरपालिका, पथरी शनिश्चरे नगरपालिकाका वडा नम्बर ५ र ६, कानेपोखरी गाउँपालिकाका वडा १, २ र ३ तथा रंगेली नगरपालिकाका वडा १, २, ३, ८ र ९ समेटेर बनेको छ । यसपटक यहा १ लाख २९ हजार १ सय ८४ मतदाता छन् ।
गठबन्धन असफल हुने इतिहास बोकेको मोरङ–२ ले यसपटक संगठन बलियो भएको एमाले रोज्छ कि पुरानो विरासत भएको कांग्रेसका मीनेन्द्र फर्काउँछ ? अथवा अर्को कुनै नयाँ राजनीतिक शक्तिलाई अवसर पो दिन्छ कि ? त्यसको निर्णय फागुन २१ ले गर्नेछ ।
यो निर्वाचन मोरङ–२ को मात्र होइन, गठबन्धनबिनाको नेपाली चुनाव कति व्यवहारिक छ भन्ने बहसको पनि उत्तर बन्नेछ ।
View : 602
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved