Biratnagar, Morang, Nepal
१० वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा आज हुने नेपाली कांग्रेस कोशीको पहिलो सम्मेलनमा नेता डा. शेखर कोइराला सहभागी नहुने

उद्‌घोष सम्वाददाता
२२ मंसिर २०८१, शनिवार

विराटनगर । विराटनगरमा आज हुने नेपाली कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलनमा नेता डा. शेखर कोइराला सहभागी नहुने भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा आफ्नै गृहनगरमा हुने पार्टीको प्रदेश सम्मेलनमा नेता कोइराला भने अनुपस्थित हुने भएका हुन्। 

नेता कोइरालाको सचिवालयले दिएको जानकारी अनुसार उनी आज चितवन जाँदैछन्। ‘केन्द्रीय सदस्य दिनेश कोइरालाको पिताजी बित्नुभएकोले त्यहाँ शोकसभामा सामेल हुन उहाँ चितवन जाँदै हुनुहुन्छ, अहिले हामी काठमाडौं विमानस्थलमा छौं’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ‘उहाँ हिजोमात्रै विराटनगरबाट काठमाडौं आउनुभएको हो। प्रदेश सम्मेलनमा जानुहुन्न ।’

आफ्नै गृहनगरमा हुन लागेको प्रदेश सम्मेलनमा कोइराला अनुपस्थित रहने मुख्य कारण उनले अफूलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरेक छन्। उनी निकट नेताहरुका अनुसार कोइरालाले प्रदेश भेलामा आफूलाई शेरबहादुर देउवापछिको आसन र समय दिनुपर्ने  माग गरेका थिए ।

‘सभापति पदको निकटतम प्रतिस्पर्धीलाई वरिष्ठ नेताको सम्मान दिएर सभापतिपछिको आसनमा राख्नुपर्छ भन्ने हाम्रो माग हो,’ कोइराला निकट स्रोतले भन्यो ‘प्रदेश सम्मेलनअघि त्यस्तो निर्णय हुनुपथ्र्यो। भएन, उहा जानुहुन्न ।’

पार्टीको १४ औं महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाको अहिले कांग्रेसको आन्तरिक मर्यादाक्रममा २६ औं स्थान छ ।

यही असन्तोष खुला रुपमा प्रकट गर्न कोइराला पक्षले प्रदेश सम्मेलनको सम्मुखमै मंसिर १८ मा कोशीका पालिकास्थित कांग्रेस सभापतिहरुको भेला आयोजना गरेको थियो। १३७ पालिकामध्ये ११३ जना सभापति उपस्थित रहेको दाबी गरेको कोइराला पक्षको भेला रोक्न केन्द्रले मौखिक निर्देशन दिएको थियो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेशलाई पत्र पठाएर पालिका सभापतिहरुलाई त्यो भेला आधिकारिक नभएको जानकारी दिन भनेको थियो। तैपनि कोइराला पक्षले भेला गरेरै छाडेको थियो ।

शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशनमा सभापति उठ्ने भन्दै गतिविधि तीव्र पारिरहेका छन्। यहीबेला विराटनगरमै हुने प्रदेश सम्मेलन उनले बहिष्कार गर्ने भएका हुन् ।

कोइराला पक्षले सभापतिका निकटम प्रतिस्पर्धीलाई वरिष्ठ नेता बनाउनुपर्ने माग गरिरहेको छ। यद्यपि देउवाले यो मागप्रति चासो देखाएका छैनन् ।

कोशी प्रदेशका सभापति उद्धव थापाका अनुसार आज हुने प्रदेश सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।

बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्नेछ ।

View : 181

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved