विराटनगर । गृहमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ अन्तरगत चौथो तथा अन्तिम त्रैमासिक (बैशाख–असार) को कार्यसम्पादन मूल्यांकन अनुसार जिल्ला प्रशासन कार्यालय मोरङ सातौं स्थानमा उक्लिएको छ ।
त्यसअघिको त्रैमासिक नतिजा अनुसार ५८ औं स्थानमा रहेको मोरङ प्रशासन चौथो त्रैमासिकमा व्यापक सुधार गर्दै सातौं स्थानमा उक्लिएको हो ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनको नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले दार्चुलासँगै समान अंक २९.२५ अंक प्राप्त गर्दै देशभरमा सातौं भएको हो ।
२०८१ पुसदेखि मोरङमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफूले सकेसम्म राम्रो काम गर्ने प्रतिवद्धता जनाएका थिए । उनी मोरङको प्रजिअ भएर आएपछि कार्यसम्पादनमा मोरङ सातौं स्थानमा आइपुगेको हो ।
जिल्लाको शान्तिसुरक्षा, विपद व्यवस्थापन, समन्वय, सेवा प्रवाह लगायतका सूचकहरूका आधारमा गृहमन्त्रालयले मूल्यांकन गर्दै आएको छ ।
सार्वजनिक भएको नतिजा अनुसार कोशी प्रदेशको धनकुटा जिल्ला कार्यसम्पादनमा देशभरकै पहिलो भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले ३२ पूर्णांकमा ३० दशमलव ०६२५ अंक प्राप्त गरेको हो ।
कोशी प्रदेशको पाँचथर जिल्ला भने कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ । पाँचथरले १४ दशमलव ३१२५ अंक प्राप्त गर्दै ७७ औं स्थानमा सीमित बनेको जनाइएको छ ।
View : 315
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved