Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

विवाह दर्ताको प्रतिलिपि लिनै दुई वर्ष !

उद्घोष सम्वाददाता
२५ मंसिर २०८०, सोमवार

झापा : विवाह दर्ताको प्रतिलिपिको माग गरेको २ वर्षपछि मात्रै प्रतिलिपी पाइएको झापाका एक सेवाग्राहीले गुनासो गरेका छन् । नागरिकलाई प्रतिलिपि उपलब्ध गराउने विषयलाई लिएर जिल्ला अदालत झापा र मेचीनगरको सामाजिक सुरक्षा शाखाको भनाइ बाझिएको छ ।

प्रमाणपत्र हराएपछि झापा मेचीनगर–९ का केशव भट्टराईले २०७८ माघ ६ गते विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपिको माग गर्दै वडा कार्यालयमा निवेदन दिएका थिए । उनले मेचीनगरबाट बिर्तामोडमा बसाइसराई जानका लागि विवाह दर्ताको प्रतिलिपिको माग गर्दै निवेदन दिएका हुन् ।  उनले मेचीनगरको सामाजिक सुरक्षा शाखाबाट २२ महिनापछि आइतबार मंसिर २४ गते मात्रै प्रतिलिपि पाएका छन् ।

सञ्चारकर्मीसमेत रहेका भट्टराईले झण्डै २ वर्षपछि मात्रै पाइने नियम गलत भएको भन्दै प्रक्रिया सच्याउन स्थानीय सरकारसमक्ष माग गरेका छन् ।

आइतबार मेचीनगरको सामाजिक सुरक्षा शाखामा पुगेका भट्टराईंले शाखा प्रमुखसँग प्रतिलिपि दिने विषयमा भएको ढिलासुस्तीको बारेमा जिज्ञासा राखेका थिए ।

जवाफमा शाखा प्रमुखले अदालतले लगेको फाइल समयमै फिर्ता नआउँदा सेवा दिन ढिला भएको स्वीकार गरेका थिए ।

मेची नगरपालिका सामाजिक सुरक्षा शाखाले प्रतिलिपि दिन लामो समय नलाग्ने बताएको छ । अदालतले प्रमाणपत्रका लागि ढड्डा बुझेर समयमै फिर्ता नहुने भएको शाखाले जनाएको छ । शाखाका पञ्जीकरण अपरेटर आयुष्मान निरौलाले प्रतिलिपिकै लागि यतिका लामो समयसम्म नलाग्ने जनाउँदै कुनै प्राविधिक समस्या भएको स्वीकार गरे । ‘ढड्डामा समस्या छ । अनलाइनमा समस्या छैन‚’ निरौलाले भने ।

सम्बन्ध विच्छेदका लागि अदालती प्रक्रिया अघि बढाउन अदालतले सम्बन्धित नगरपालिकाबाट विवाह दर्ताको फाइल माग गरेको जनाएको छ । जिल्ला अदालत झापाले प्रमाण पुष्टि गर्न ढड्डा माग गरे पनि इजलाससमक्ष देखाएपछि फिर्ता गर्ने गरेको जनाएको छ । 

View : 184

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved