Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

रोहित कोइराला नेतृत्वको एमाले महानगरले रक्तदाता सञ्जाल बनाउने

उद्‌घोष सम्वाददाता
१७ असोज २०८१, बिहिवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्तदाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । 

बुधबार सम्पन्न भएको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा बिरामीहरूको लागि अस्पतालहरूमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै रक्तदाता सञ्जाल बनाउने निर्णय गरेको हो । 

जिल्ला कमिटीबाट अध्यक्ष तोकिएका रोहित कोइरालाको अध्यक्षतामा भएको महानगर कमिटीको पहिलो बैठकले महानगरभित्रका पार्टी सदस्यहरूलाई समेत समेटेर नेकपा एमाले महानगर रक्तदाता सञ्जालको निर्माण गर्ने निर्णय गरेको महानगरका सचिव बलराम गिरीले बताए ।

सचिव गिरीले महानगर र मातहतका कमिटीहरूले प्रत्येक बैठक तथा कार्यक्रममा समेत माइन्युटमा अनिवार्य रुपमा रगत समूहको अभिलेख राख्ने व्यवस्था मिलाउने बताए ।

त्यसरी राखिएको रगत समुहको अभिलेख अनुसार विराटनगरका जुनसुकै अस्पतालमा रगत आवश्यक पर्दा सम्पर्क गरेर रगतको अभाव पुरा गर्ने योजना रहेको जनाइएको छ ।

अर्को बैठकसम्म पार्टीका गतिविधिहरूलाई चलायमान बनाउन पदाधिकारीलाई नै जिम्मेवारी तोक्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी बैठकले दशैं तिहार, नेपाल सम्वत्, छठ, इद लगायत चाडपर्वको अवसरमा यही असोज १९ गते शनिबार विराटनगरस्थित श्रीकृष्ण होटलमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गर्ने तयारी निर्णय गरेको पनि सचिव गिरीले बताए ।

उक्त बैठकले महानगर कमिटीका सदस्य सुदीप कोइरालालाई विराटनगर महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कमिटीको प्रवक्तामा नियुक्त गरेको छ ।

बैठकले महानगर कमिटीका सदस्य शेखर विश्वासका पिता जय नारायण विश्वास र पार्टी जिल्ला कमिटीका सचिव रबिन थापाका भाइ कृष्ण थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

बैठकमा एमाले मोरङका इन्चार्ज एवं केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले मोरङ जिल्ला संगठन कमिटीका जिल्ला अध्यक्ष बाबुराम कार्की, महानगर इन्चार्ज पर्शुराम बस्नेत लगायतले आफ्ना धारणा राखेको जनाइएको छ ।

View : 238

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved