Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

पथरीशनिश्चरेमा १५ वर्षीया बालिका हत्या प्रकरण

चार घण्टाभित्रै प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका यी हुन् हत्या आरोपी

उद्‌घोष संवाददाता
२२ फागुन २०८०, मङ्गलवार

Advertisement

विराटनगर । सोमबार राती मोरङको पथरी शनिश्चरे नगरपालिका– ७ लामाटोलस्थित दाजुको घरमा बस्दै आएकी १५ वर्षीया बालिका सन्जना भन्ने ज्ञानमती थुलुङ राईको हत्यामा संलग्नलाई मोरङ प्रहरीले घटनाको चार घण्टाभित्रै पक्राउ गरी सार्वजनिक गरेको छ ।

बालिकाको ट्वाइलेट जाने क्रममा अपरिचित मानिसले धारिलो हतियार प्रहार गरेर घटनास्थलमा हत्या गरेको आरोपमा प्रहरीले तालिमप्राप्त कुकुर समेत प्रयोग गरेर अनुसन्धान अघि बढाएको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले हत्यामा संलग्नको खोजीका लागि तत्कालै इलाका प्रहरी कार्यालय पथरीबाट टोली परिचालन गरिएको र प्रहरीलाई जानकारी प्राप्त भएको चार घण्टामा मंगलबार बिहान साढे २ बजे बेलबारी नगरपालिकास्थित भाउन्नेको जङ्गल क्षेत्रबाट आरोपी पक्राउ परेको जानकारी दिए । पक्राउ पर्नेमा मोरङकै ग्रामथान गाउँपालिका– ४ का धिरेन कुमार खाँ चौधरी रहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

चौधरी विगत लामो समयदेखि बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएको खुलेको छ । प्रहरीले उनको परिवारसँग गरेको सोधपुछका क्रममा तीन महिनायता घरमा नआएको खुलेको हो ।

खोटाङको ऐंसेलुखर्क– ६ सल्ले घर भएकी बालिका राई दुई बर्षयता पथरीशनिश्चरे– ७ स्थित दाजु नाता पर्ने बिनोद राईको घरमा बसेर पञ्चायत माविमा सात कक्षामा अध्ययनरत थिइन् ।

सोमबार राती सुत्नुअगाडि शौचालय जाने क्रममा चौधरीले उनीमाथि धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुलेको छ । बालिकाले आक्रमण भएपछि चिच्याएको सुनेर बाहिर निस्किंदा उनी ढलिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अनुसन्धानका क्रममा शव नजिकै तरकारी रोप्न तयार गरेको बारीमा शंकास्पद मानिसको फुट प्रिन्टहरू फेला परेकोले घटना कर्तव्य ज्यान नै भएको र घटना गराएर संलग्न व्यक्ति फरार भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा मृतक बालिका केही समय अगाडिदेखि नै एकजना पुरुष मानिसको प्रेममा रहेको र एक पटक घरबाट भागेको, निजलाई रानी नाका हुँदै जोगबनीतर्फ जाने क्रममा मानव बेचबिखनविरुद्ध सकृय एक गैरसरकारी संस्थाले फेला पारी उद्धार गरेर परिवारको जिम्मा लगाएको खुलेको प्रहरीले जनाएको छ । बालिकालाई परिवारको जिम्मा लगाएपछि समेत उनीहरु सम्पर्क रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ ।

चौधरीले मृतक बालिकाको नाममा फेसबुक, इन्टाग्राम, इमो लगायतका सामाजिक सञ्जालमा खाता खोलेर चलाउने गरेको जनाइएको छ । बालिकाका परिवारका सदस्यलाई दुःख दिने आशयले धिरेन कुमार खाँ चौधरीले फेसबुक म्यासेजमा बिभिन्न फोटोहरू पठाउने लगायतको कार्य गर्ने गरेको समेत अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

View : 1363

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved