Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्व विद्यार्थीहरूको अभूतपूर्व साथमा हीरक जयन्ती मनाउँदै मिल्स मावि

उद्‌घोष संवाददाता
१ फागुन २०८२, शुक्रवार

विराटनगर । विराटनगर–१६ मिल्स एरियास्थित मिल्स माध्यमिक विद्यालयले आफ्नो ७५औं वार्षिकोत्सव तथा हीरक जयन्ती शनिबारदेखि साताव्यापी कार्यक्रमका साथ मनाउने भएको छ । 

हीरक जयन्तीको तयारी पूरा भइसकेको विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावतीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिए । उनले विद्यालयका पूर्वविद्यार्थीहरूबाट अभूतपूर्ण साथ पाएर हीरक जयन्तीलाई भव्य बनाउने अन्तिम तयारी पनि पुरा भएको बताए ।

साताव्यापी कार्यक्रमको अवधिभर खेलकुद, शैक्षिक, सांस्कृतिक, सामाजिक तथा पुनर्मिलनका कार्यक्रम सञ्चालन गरिने उनले बताए । 

हीरक जयन्तीका लागि पूर्व विद्यार्थीहरूबाट व्यक्तिगत तथा समूहगत रूपमा उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । 

जसअन्तरगत एसएलसी ब्याच–२०३९ ले ३ लाख ४ हजार ५२८, ब्याच–२०३८ ले २ लाख २६ हजार ३६५, ब्याच–२०४६ ले ७३ हजार ६५० सहयोग उपलब्ध गराएको जनाइएको छ । 

त्यसैगरी, ब्याच–२०३१ ले १ लाख ५५ हजार रुपैयाँ बराबरको एक स्मार्ट बोर्ड सहयोग गरेका प्रधानाध्यापक लावतीले बताए । 

स्व. रघुवीर देवानको स्मृतिमा अक्षयकोष स्थापना गर्न परिवारबाट ५० हजार र स्व. गणेश देवानको स्मृतिमा परिवारबाट २० हजार रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए । विद्यालयका अन्य पूर्व विद्यार्थी, पूर्व शिक्षक–कर्मचारी, संघसंस्था र शुभेच्छुकहरूबाट पनि उल्लेख्य रुपमा सहयोग जुटिरहेको बताए ।

मिल्स मावि २००७ साल फागुन ७ गते स्थापित भएको हो । यो विद्यालयबाट २०२९ सालदेखि कक्षा १० को अध्यापन सुरु भई एसएलसी (हाल एसईई) परीक्षा संचालन गरिएको थियो । हाल विद्यालयले एसईईको ५९ ब्याज पुरा गरेको जनाइएको छ ।

मिल्स माविमा अहिले १ हजार २४२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा ५३ जना शिक्षक कर्मचारी कार्यरत रहेको जनाइएको छ । त्यस्तै आगामी शैक्षिक सत्रदेखि सबै कक्षा अंग्रेजी माध्यममा संचालन हुने प्रअ लावतीले दाबी गरे ।

हीरक जयन्ती मनाउनका लागि सोही विद्यालयका पूर्व विद्यार्थी एवं विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राजेश सुब्बाको संयोजकत्वमा पूर्वविद्यार्थीहरूको विभिन्न बर्षको ब्याचले सहयोग जुटाइरहेको छ । 

संयोजक सुब्बाले पूर्व विद्यार्थीहरूको समेतको पहलमा विद्यालयले २६ कोठा भएको पाँच तले नयाँ भवन बनाउने तयारी अघि बढाएको बताए । त्यसका लागि डिपीआर तयार भइसकेको उनले जानकारी दिए । 

हीरक जयन्तको अवसरमा मिल्स मावि हीरक जयन्ती स्मारिका विशेष अंक २०८२’ प्रकाशनको अन्तिम चरणमा पुगेको सम्पादन मण्डलका सदस्य एवं सोही विद्यालयका पूर्व प्रधानाध्यापक दिनेश श्रेष्ठले बताए ।

उनले ७५ बषको विद्यालयको आरोह अवरोह र मिल्स एरियाको राजनीतिक, आर्थिक र खेलकुद लगायतका विभिन्न आयामलाई समेटेर स्मारिका प्रकासित गरिने जानकारी दिए ।

विद्यालयलाई आर्थिक सहयोग गर्ने दाताहरूको नाम सिलालेखमा उल्लेख गरी विद्यालय गेटभित्र राखिने जनाइएको छ ।

पूर्व विद्यार्थीहरूको समूहलाई व्यवस्थित गर्दै ‘विराट विकास मञ्च’ नामक साझा फोरम स्थापना गरिएको छ । सोही मञ्चको आयोजनामा विराटनगर महानगरपालिका स्तरीय मावि हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न भइसकेको जनाइएको छ ।

खेलकुद, दौड र रक्तदान

हीरक जयन्तीको अवसरमा फागुन २–४ गतेसम्म खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन हुनेछ । फागुन ५ गते बिहान ७ बजे मिल्स एरियाका विभिन्न विद्यालयका छात्रछात्राबीच ३ किमी सडक दौड आयोजना गरिने जनाइएको छ । 

दौडमा सहभागी सबैलाई जर्सी उपलब्ध गराइने विद्यालयले जनाएको छ । सोही दिन बिहान ९ बजे दौड सम्पन्न भएपछि पुरस्कार वितरण गरिने कार्यक्रम छ । फागुन ६ गते रेडक्रसको प्राविधिक सहयोगमा वृहत रक्तदान कार्यक्रम हुने विद्यालयले जनाएको छ ।

विद्यालयले हीरक जयन्तीको अवसरमा फागुन ७ गते बिहान सरस्वती पूजासँगै विद्यालयको ऐतिहासिक डकुमेन्ट्री सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसपछि पूर्व विद्यार्थी पुनर्मिलन, संवाद, मनोरञ्जन तथा प्रतिभा प्रदर्शनका कार्यक्रम तय गरिएको प्रअ लावतीले बताए । 

ऐतिहाँसिक उद्घाटनको तयारी

फागुन ८ गते हुने हीरक जयन्तीको मूल समारोहको उद्घाटन पनि भव्य रुपमा हुने जनाइएको छ । 

वि.सं. २००९ सालदेखि विद्यालयमा अध्यापन गरेकी ९४ वर्षीया पूर्व शिक्षिका मणिकला गुरुआमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । उनलाई रथयात्रामार्फत वर्माटोल, प्रहरी तालिम केन्द्र, झमेली चोक, बैंक रोड, भट्टिमोड र वडा कार्यालय हुँदै विद्यालय परिसरमा स्वागत गरिने कार्यक्रम रहेको छ । 

मिल्स माविकै विद्यार्थीले निर्माण गरेको रोबोटबाट कार्यक्रमको उद्घाटन गर्ने तयारी भइरहेको जनाइएको छ । साथै, विद्यार्थीबाटै निर्मित ड्रोनले उक्त उद्घाटनको भिडियो र तस्वीर कैद गर्ने जनाइएको छ । 

कार्यक्रमका अवसरमा विद्यार्थीहरूले गीत, संगीत, नृत्य, कला, विज्ञान, स्वास्थ्य तथा सफ्टवेयरसम्बन्धी डकुमेन्ट्री प्रदर्शन गर्नेछन् । 

प्रधानाध्यापक लावतीले विद्यालयको हालसम्मको भौतिक, शैक्षिक, प्रशासनिक तथा आर्थिक अवस्थासहित आगामी योजनाको खाका प्रस्तुत गर्ने जनाइएको छ ।

छात्रवृत्ति, सम्मान र पुरस्कार

हीरक जयन्तीको अवसरमा विद्यालयमा स्थापित अक्षयकोषबाट जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।

उक्त कार्यक्रम अन्तरगत रवर्टशन शाक्य जेहेन्दार छात्रवृत्ति (१० जना), विनायक छात्रवृत्ति (४ जना), बावा विनु उत्कृष्ट छात्रवृत्ति (२ जना), भिमप्रसाद दाहाल छात्रवृत्ति (२ जना) र रामेश्वरलाल–शान्तादेवी राठी जेहेन्दार छात्रवृत्ति (२ जना), अनुशासित र उच्च उपस्थिति भएका ४ विद्यार्थी तथा विद्यालयसँग निरन्तर सम्पर्क राख्ने ४ अभिभावकलाई सम्मान गरिने कार्यक्रम रहेको प्रअ लावतीले बताए । 

साथै, विद्यालयमा दीर्घ सेवा गरेका एक शिक्षक र एक कर्मचारी, एसइईमा उत्कृष्ट नतिजा दिलाउन योगदान गर्ने शिक्षकहरूसहित ‘उत्कृष्ट वर्ष शिक्षक’ लाई विशेष पुरस्कार र सम्मानित गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

विद्यालयले मिल्स एरियाकै शैक्षिक केन्द्रका रूपमा अघि बढ्ने लक्ष्यसहित प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड, विद्युतीय पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशालाको स्तरोन्नति गर्ने र ‘मिल्स पूर्व विद्यार्थी भवन’, ‘मिल्स हीरक भवन’ र ‘जुद्धबहादुर स्मृति हल’ निर्माणका लागि सहयोग र सहभागिताका लागि हीरक जयन्तीका अवसरमा अपिल गर्ने तयारी गरेको छ ।

View : 162

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved