विराटनगर । विराटनगर–१६ रानीस्थित ऐतिहासिक मिल्स माध्यमिक विद्यालयले आफ्नो ७५औं वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा खुल्ला म्याराथन प्रतियोगिता आयोजना गरेको छ ।
विद्यालय परिसरबाट सुरु भएको उक्त प्रतियोगितामा पुरुष र महिला दुवै विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फको प्रतिस्पर्धामा पूर्वाञ्चल विद्या सदनका सेसेहाङ्ग लावती प्रथम भए ।
त्यसैगरी मिल्स माविका सागर सरवरिया द्वितीय, मिल्स माविकै धिरजकुमार सरवरिया तृतीय, गोदावरी स्कुलका सुजित यादव चौथो र बाल्मीकि स्कुलका राकेश यादव पाँचौ स्थान हासिल गर्न सफल भए ।
छात्रातर्फ विद्या विकास स्कुलकी नुरी खातुनले प्रथम स्थान हासिल गरिन् । यस्तै, देवकोटा स्कुलकी वेविशा राजवंशी द्वितीय, मिल्स माविकी आशियाणा प्रवीण तृतीय, भगवती विद्या मन्दिर स्कुलकी नाजिया प्रवीण चौथो र भगवती विद्या मन्दिरकी हिरामणी ठाकुर पाँचौ भइन् ।
प्रतियोगिताका विजेताहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरियो । विजयी विद्यार्थीहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर रानाले पुरस्कार वितरण गरे ।
विद्यालयले आफ्नो ७५औं वार्षिकोत्सवको अवसरमा फागुन २ गतेदेखि ८ गतेसम्म सप्ताव्यापी विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
बुधबार पूर्वविद्यार्थीहरूको पुनर्मिलन, संवाद कार्यक्रम तथा विद्यालयको ऐतिहासिक वृत्तचित्र डकुमेन्ट्री सार्वजनिक गर्ने तालिका रहेको विद्यालयले जनाएको छ ।
फागुन ८ गते बिहीबार आयोजना हुने मूल समारोह विशेष र ऐतिहासिक हुने बताइएको छ । सो दिन वि.सं. २००९ देखि विद्यालयमा अध्यापन गराएकी ९४ वर्षीया पूर्वशिक्षिका मणिकला गुरुआमालाई प्रमुख अतिथिको रूपमा रथारोहण गराई नगर परिक्रमा गराइनेछ ।
यसपटकको समारोहलाई प्रविधिमैत्री समेत बनाइँदै छ । कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेको रोबोटमार्फत प्रमुख अतिथिलाई स्वागत गरिने विद्यालय प्रशासनले जानकारी दिएको छ ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved