विराटनगर लगायत कोशी प्रदेशका प्राय सवै स्थानमा बर्षा जारी रहेको छ । तस्वीर : एमएसएन वेदर
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज शुक्रबार साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशहरूमा साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुनेछ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
कोशी, मधेस र वाग्मती प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना छ । यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मध्यम हिमपात हुन सक्नेछ ।
यस्तै, ती प्रदेशका केही स्थानमा भारी हिमपात हुने सम्भावना पनि छ । भारी वर्षा र हिमपातको पूर्वानुमान गरिएका स्थानका सर्वसाधारण एवं किसानका साथै यात्रामा निस्किएका तथा सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार पछिल्लो १२ घन्टामा मोरङको हरैँचामा सवैभन्दा धेरै वर्षा मापन गरिएको छ । त्यहाँ १४०.६ मिलिमिटर वर्षा भएको जनाइएको छ ।
सप्तरीको बरमझियामा १०५.६, उदयपुरको उदयपुरगढीमा ८३.२, सदरमुकाम गाईघाटमा ७४, मुर्कुची बजारमा ७३.६, चुरेमाईमा ७२.४ र सिराहाको लाहानमा ७१.६ मिलिमिटर वर्षा भएको छ ।
View : 555
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved