विराटनगर । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६ सय ९० किलोग्राम गाँजा सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनी ट्रकमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेवगञ्जर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
मंगलबार राती इलाका प्रहरी कार्यालय साहेवगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाउँपालिका–५ मेहेता टोलको भित्री सडक खण्डबाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकलाई रोकेर जाँच गर्दा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो ।
ट्रकबाट गाँजा बरामद भएसँगै चालक भिमफेदी नगरपालिका–१४ मकवानपुरका २५ वर्षीय चन्द्रबहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका–६ मोरङका बलबहादुर लिम्बू र देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय अरबिन्द पाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले भारतीय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवाइल सेट समेत बरामद गरेको छ ।
यसैगरी विराटनगर महानगरपालिका–१७ आईसीपी रोडमा काँचो केरा बोकेको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दै गरेको अवस्थामा मंगलबार २ सय ५० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त पिकप भेनबाट गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसँगै चालक शहिदभूमि गाउँपालिका–३ धनकुटाका १८ वर्षीय दिवस राई पक्राउ परेका छन् ।
यसअघि मोरङको रतुवामाई नगरपालिका–६ बाट लागुऔषध ओसारपसारमा संलग्न रहेका एक जना भारतीय नागरिकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागुऔषध खैरो हेरोइनको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र लागुऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतीय नागरिक ३४ वर्षीय भगिरथ हरिजनलाई मंगलबार दिउँसो मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडाबाट नियन्त्रणमा लिएको थियो ।
भारतीय नम्बरको मोटरसाइकल चालक हरिजनलाई नियन्क्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गर्दा एक जना प्रहरी कर्मचारी समेत घाइते भएका थिए । प्रहरीले उनको तिघ्रामा दुई राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो ।
उनको साथबाट १४९ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले दावी गरेको छ । प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निगरानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भइरहेको बताइएको छ ।
View : 194
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved