Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मेयर साम्पाङले बैठक नराख्दा रोकियो धरानको बजेट

उद्‌घोष संवाददाता
११ असार २०८२, बुधवार

विराटनगर । मेयर हर्क साम्पाङले बजेट सीमा निर्धारण समितिको बैठक नराखेकै कारण सुनसरीको धरान उपमहानगरपालिकाले समयमै बजेट ल्याउन असफल भएको छ । कानुन अनुसार स्थानीय सरकारले बजेट ल्याउने अन्तिम दिन असार १० हो । 

उपमहानगर बजेट तर्जुमा समितिका संयोजकसमेत रहेका उपमेयर अइन्द्रविक्रम बेघाका अनुसार मेयर हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेका कारण बजेट सम्बन्धि काम अघि बढेकै छैन ।

‘नगर प्रमुखज्यूको नेतृत्वमा रहेको बजेट सीमा निर्धारण समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन’ उपमेयर बेघाले भने, ‘सीमा निर्धारण समिति बैठक बसेर सीमा तोकेपछि बजेट तर्जुमा समितिको बैठक बस्नुपर्छ ।’ 

उनका अनुसार त्यसपछि समितिले विषयत समिति र वडा समितिलाई सीमा पठाएर छलफल हुन्छ । त्यसपछि तर्जुमा समितिले बजेट बनाउँछ । त्यसरी बनेको बजेट कार्यपालिकामा पेस गरेर अनुमोदन भएपछि बल्ल नगरसभामा पेश गर्नुपर्छ । 

धरान भने यो लामो प्रक्रियाको सुरुतिरै अल्झेको छ । यसको मुख्य कारण मेयर साम्पाङले श्रमदानका नाममा नगरबाट बजेट लैजान खोजेका कारणले निम्त्याएको विवाद नै हो । 

बजेट सीमा निर्धारण समितिको बैठककै दिन धरानमा मेयर र उपमेयरबीच तनाव भएको थियो । त्यसयता बैठक बस्नै सकेको छैन । जसका कारण समयमा बजेट आउनै नसकेको हो । अहिलेसम्म धरानमा  राजस्व परामर्श समितिले प्रतिवेदन तयार पार्नेबाहेक बजेटको अरु काम अघि बढेकै छैन ।

राजस्व परामर्श समितिको वैशाख ३० मा सम्पन्न बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ । 

समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने बताएको थियो । मेयर साम्पाङ र उनको सचिवालयमा यसबारे सम्पर्क गर्न खोज्दा मेयर र स्वकीय सचिव दुवैले फोन उठाएनन् । 

पालिकाहरूले आफ्नो बजेट नगर वा गाउँसभामा प्रस्तुत गर्नुपर्छ । बजेट प्रस्तुत गर्ने काम उपमेयर वा पालिका उपाध्यक्षको हो । तर नगर वा गाउँसभाको बैठक बोलाउने काम मेयर वा पालिका अध्यक्षको हो ।

View : 402

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved