विराटनगर, ५ मंसिर : मोरङको उर्लाबारी नगरपालिका–७ मा कार्तिक २६ गते भएको आगलागी नियन्त्रणका क्रममा आगोको लप्काले जलेर गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ ।
उपचारका लागि नेपाली सेनाको जहाजबाट किर्तिपुरस्थित वर्न हस्पिटल लगिएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डीतको उपचारकै क्रममा मंगलबार विहान मृत्यु भएको जनाइएको छ ।
स्थानीय दीपक कार्कीको घरमा उनैले संचालन गरेको स्नेहा ज्वेलर्समा आगलागी हुँदा नियन्त्रणका क्रममा खटिएका सुरक्षाकर्मीहरुसहित २८ जना घाइते भएका थिए ।
जसमध्ये २५ जनालाई नेपाली सेनाको जहाजबाट दुई चरणमा वर्न हस्पिटल किर्तिपुर पुर्याइएको थियो ।
आगलागी नियन्त्रणका लागि घरको सटर फोड्न लाग्दा भित्रबाट ग्यास सिलिण्डर बिस्फोट भएको र आगोको लप्का बाहिरसम्मै फैलिएर उनीहरु घाइते भएका थिए । घाइतेहरु मध्ये पण्डितसहित १० को विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो ।
त्यहाँबाट थप उपचारका लागि उनीहरुलाई कात्तिक २८ गते मंगलबार झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौं पुर्याइएको थियो ।
उपचाररत मध्ये पाँचजनाको सल्यक्रियासमेत भएको थियो । उपचाररत दुई जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।
View : 333
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved