Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

जेनजी आन्दोलनपछि हिमाली क्षेत्रमा पुग्यो ब्राउन सुगर

दुर्गम क्षेत्रमा तिहारलाई लक्षित गरेर पनि लागुऔषध जम्मा गरिदै आएको छ । अति महँगो लागुऔषधको प्रयोग दुर्गममा पनि बढ्नुको कारण युवामा क्रयशक्ति बढ्नुलाई मान्न सकिन्छ । अन्न उत्पादनसमेत नहुने क्षेत्रमा प्रति ग्राम १५ हजार रुपैयाँसम्म पर्ने महँगो वस्तुको कारोबार गर्न लगिनुलाई सामान्य मान्न नसकिने सरोकारवाला बताउँछन् ।
उद्‌घोष संवाददाता
२७ असोज २०८२, सोमवार

विराटनगर । अति महँगो मूल्यमा पर्ने लागुऔषधको माग अन्न उत्पादन समेत नहुने हिमाली क्षेत्रमा पनि हुने गरेको पाइएको छ । जेनजी आन्दोलनपछि यसको माग र कारोबार नेपालमा अत्यधिक बढेको छ ।

संखुवासभाको भोटखोला गाउँपालिकाको हिमाली क्षेत्रमा लगिदै गरेको साढे दुई लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने ब्राउन सुगर त्यसका कारोबारी र नापतौल गर्ने यन्त्र प्रहरीले बरामद गरेको छ । खाँदबारीबाट भोटखोलातर्फ जाँदै गरेको को १ ज ३१६९ नम्बरको बोलेरो जीप रोकेर खोजतलास गर्दा शनिबार २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो ।

जीप र त्यसका चालक सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको छ । 

दुर्गम क्षेत्रमा तिहारलाई लक्षित गरेर पनि लागुऔषध जम्मा गरिदै आएको छ । अति महँगो लागुऔषधको प्रयोग दुर्गममा पनि बढ्नुको कारण युवामा क्रयशक्ति बढ्नुलाई मान्न सकिन्छ ।

अन्न उत्पादनसमेत नहुने क्षेत्रमा प्रति ग्राम १५ हजार रुपैयाँसम्म पर्ने महँगो वस्तुको कारोबार गर्न लगिनुलाई सामान्य मान्न नसकिने सरोकारवाला बताउँछन् । 

ब्राउन सुगरको समस्या नेपालमा मात्र नभई शक्तिशाली मुलुकहरूमा पनि बढेको र नियन्त्रण बाहिर रहेको देखिन्छ ।

संखुवासभाका प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार पहिल्लो समयमा हिमाली र पहाडी क्षेत्रमा पनि लागुऔषधको कारोबार र माग बढेको देखिएको छ । यसबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

विराटनगरको सीमा जोडिएको जोगवनी बजारमा ब्राउन सुगरको प्रति ग्राम ३ हजार ५ सय रुपैयाँ रहेको बताइन्छ ।

प्रहरी स्रोतका अनुसार जोगवनीको मूल्य भन्दा दोब्बर धरानमा ७ हजार रुपैयाँ प्रति ग्राम पर्छ । 

काठमाडौंमा १२ हजार र सोलुखुम्बुमा १५ हजार रुपैयाँ प्रति ग्राममा बिक्री हुने गरेको छ । भारतको पश्चिम बंगालबाट खरिद गरेर नेपाल ल्याउने गरिएको ब्राउन सुगर केही महिना यता बिहारको जोगवनी नाकाबाट आउन थालेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार भारत बिहारमा सुरक्षा सतर्कता कमजोर भएकाले पनि कारोबारीले जोगवनी नाकालाई प्रयोग गर्दै आएका छन् । 

नेपालतर्फ पनि जेनजी आन्दोलनपछि सुरक्षा ब्यवस्था कमजोर भएकाले विराटनगर नाकालाई कारोबारीले ब्यवसाय गर्ने थलो बनाएका छन् । 

‘लागुऔषधको यस्तै अवस्था भए जेनजी आन्दोलन जस्तै अर्को खतरा उत्पन्न हुन्छ’ एक प्रहरी अधिकृतले भने ।

उनका अनुसार जेनजी आन्दोलनमा अराजकता फैल्याउने अधिकांश युवा लागुऔषधका प्रयोगकर्ता थिए । 

लागुऔषधमुक्त युवाहरूको सञ्जाल रिकभरिङ नेपालका कोशी प्रदेश उपाध्यक्ष सञ्जीव चापागाई पनि ब्राउन सुगरको अत्यधिक प्रयोग बढेको र तत्काल नियन्त्रण गर्न नसके जुनसुकै आन्दोलनमा यसको गलत प्रभाव बढी देखिने खतरा रहेको बताउँछन् ।

आन्दोलनमा व्यक्ति र सरकारी सम्पत्ती आगजनी गर्ने धेरै जसो युवाहरू लागुऔषध प्रयोगकर्ता थिए । यदि त्यस खाले आन्दोलन पुनः भए घटना दोहोरिन सक्ने चापागाईको अनुमान छ । 

जोगवनीबाट केही ग्राम ब्राउन सुगर बोकेर पहाडतर्फ लाग्दा राम्रो कमाइ हुने भएकाले पनि कतिपय युवाहरू भरियाको कामलाई पेशा बनाएर लागेका छन् ।

नेपाल प्रहरीको लागुऔषध ब्युरो केन्द्रदेखि हरेक प्रदेश र भंसार नाका भएका जिल्लाहरूमा तैनाथ छ । 

कतिपय ठाउँमा लागुऔषध ब्युरोका प्रहरीसँग निकट सम्बन्ध राखेर पनि कारोबारीले ब्यापार गर्ने गरेको बताइन्छ । ‘लागुऔषधको सूचना दिएर निकट हुने र त्यसको फाइदा उठाउँदै कारोबार गर्नेहरू पनि छन्’ स्रोतले भन्यो ।

भन्सार नाकामा पहिलो लाइनमा सशस्त्र प्रहरी र दोस्रो लाइनमा नेपाल प्रहरी तैनाथ छन् । त्यस बाहेक लागुऔषध ब्युरोको पनि निगरानी हुने गरेको छ । 

लागुऔषधले ठुलो समस्या निम्त्याउने सम्बन्धमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल यसमा प्रहरी मात्रै नभई नागरिक पनि जिम्मेवार भए मात्रै नियन्त्रण गर्न सकिने बताउँछन् ।

View : 318

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved