Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

धितो मुल्याङ्कनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको आरोपमा तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका सीइओ न्यौपाने पक्राउ

उद्घोष सम्वाददाता
१६ फागुन २०८०, बुधवार

विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार धितो मूल्याङ्कनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई पनि सीआईबीले पक्राउ गरेको हो ।

न्यौपाने हाल प्रभु बैंकका वरिष्ठ नायब सीईओ पदमा छन् । पक्राउ पर्ने अन्यमा राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पनि छन् । पक्राउ परेका १० जना सबै प्रहरी हिरासतमा छन् । 

पक्राउ परेका सबैलाई अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ ।

सीआईबीले उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गर्न ७ दिन हिरासतमा राख्न अनुमति पाएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार न्यौपाने, गौतम लगायतले धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको पाइएको हो ।

सीआईबीले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सातदोबाटोमाथि अनुसन्धान गरेको थियो । 

सो संस्थामा आबद्ध रहेका सञ्चालक समितिका पदाधिकारीहरू, उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र कम्पनीहरूले लिएका कर्जाको विषयमा सीआईबीले अनुसन्धान गरेको थियो ।

देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं हाल पुर्पक्षको लागि थुनामा छन् ।

सहकारीको रकम अपचलन गरेको कसुरमा उनी थुनामा छन् । उनले र उनी आवद्ध चार कम्पनीलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकले ऋण प्रवाह गरेको पाइएको प्रहरी उपरीक्षक बोगटीले बताए ।

View : 267

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved