Biratnagar, Morang, Nepal
१२ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

ग्रामथानमा अमनलाललाई द्वारिकले भने- ‘यहाँ मोदी आतंकको भूत भगाउन आएको हुँ’

इटहरीको मेयरको कुर्सीमा हुन्जेल कहिले पत्रकारसँग जोडिएर अनि कहिले कर्मचारीसँग सम्बद्ध विवादले चर्चा र विवादमा छाइरहने गरेका चौधरीले पनि जवाफ फर्काए ‘म केही दिनदेखि यतै छु, केही केही ठाउँमा मोदी आतंक छ रे, त्यही भूत भगाउन भनेर म आएको हुँ ।’
उद्घोष सम्वाददाता
१२ मंसिर २०८१, बुधवार

ग्रामथान । उपनिर्वाचनको माहोलले गर्माएको मोरङको ग्रामथान गाउँपालिकामा दलहरु चुनाव प्रचारको अन्तिम चरणमा छन् । सबैजसो उम्मेद्वार अन्तिम चरणको प्रचारमा व्यस्त रहँदा विभिन्न दलका नेताहरु पनि आफ्ना उम्मेद्वारलाई सघाउने दौडादौडीमै छन्  । 

यहीक्रममा बुधबार दिउँसो ग्रामथान–२ पिडारबनी चोकैको चिया पसलमा माओवादी नेता एवम् संघीय सांसद अमनलाल मोदी स्थानीयसँग गफिँदै गरेको अवस्थामा भेटिए । उनको साथमा माओवादी कोशीका अध्यक्ष हर्क नेम्वाङ पनि थिए । उनी बसेर गफिइरहेको चिया पसलमै आइपुगे एमाले नेता द्वारिकलाल चौधरी । 

इटहरी उपमहानगरका पूर्व मेयर चौधरीलाई देख्नासाथ सांसद मोदीले भने ‘ओहो, मेयर सा’ब, स्वागत छ मेरो क्षेत्रमा ।’ चौधरी र मोदीले आपसमा हात मिलाए । मोदीले चिया खाने अफर गरे । चौधरीले पनि उनको प्रस्ताव स्वीकार गरे । 

चिया आउनुअघि यी दुई नेताबीच केहीबेर राम्रै छेडखानी चल्यो । सुरुआत मोदीले गरे । 

 ‘यहाँ एमालेको राम्रै छ त हौ मेयर सा’ ब, के दुःख गर्नुहुन्छ बेकारमा । हामी पो तेस्रो थियौं र दुःख गरिरहेका छौं’, मोदीले भने ‘के छ, कता कता पुग्दै हुनुहुन्छ ?’ 

इटहरीको मेयरको कुर्सीमा हुन्जेल कहिले पत्रकारसँग जोडिएर अनि कहिले कर्मचारीसँग सम्बद्ध विवादले चर्चा र विवादमा छाइरहने गरेका चौधरीले पनि जवाफ फर्काए ‘म केही दिनदेखि यतै छु, केही केही ठाउँमा मोदी आतंक छ रे, त्यही भूत भगाउन भनेर म आएको हुँ ।’ 

‘यहाँ मेरो आतंक होइन, प्रेम छ जनतासँग’, मोदीले पनि हाँसेरै जवाफ फर्काए ‘साथी हो छ त मोदी आतंक ?’ उनले आफूसँगै चिया पिउन बसेकाहरुतिर जिज्ञासापूर्ण नजर लगाए । उनीहरुले ‘छैन, छैन’ भने । 

त्यसपछि उनीहरुबीच थप कुरा अघि बढ्यो । मोदीले चौधरी र माओवादी प्रदेश अध्यक्ष नेम्वाङको चिनजान गराउन खोजे । उनीहरु दुवैले चिनजान पुरानै हो भनेर जवाफ दिए । त्यहाँ उपस्थित पत्रकारहरुले भनिदिए ‘उहाँहरु हिजोअस्तिसम्म एकै दलका हुनुहुन्थ्यो होइन र ?’ 

फेरि मोदीले भने ‘हो नि, उहाँ हाम्रै पार्टीबाट प्रदेशको चुनाव पनि लड्नुभएको थियो ।’

चौधरीले भने आफू माओवादीबाट चुनाव लडेको नभइ चुनाव चिन्ह मात्रै लिएको दाबी गरे । ‘हामी नेकपा हुँदा सँगै थियौं, अदालतले छुट्याइदियो । पछि तपाइँहरुको चिन्ह लिएर चुनाव लडेँ । पछि तपाइँहरुको अध्यक्षले मलाई वैकल्पिक केन्द्रीय सदस्य पनि बनाउनुभयो ।’ 

मोदीले यो विषय तन्काउन चाहेनन् । ‘एमाले बनाएर, १५ वर्ष नेतृत्व गर्ने माधव नेपाल, झलनाथ खनाल, हाम्रै वैद्य, बाबुराम भट्टराईले त पार्टी छाड्नुभयो । यस्तो प्रक्रिया राजनीतिमा चलिरहन्छ’, मोदीले भने ‘यसलाई म अन्यथा लिन्न मेयर सा’ ब ।’ 

त्यसपछि केहीबेर सुनसरीतिरको अर्कै विषयमा उनीहरु गफिए । चिया पिइसकेपछि मोदीले भने ‘मेयर सा’ब तपाइँहरुको अध्यक्ष (केपी शर्मा ओली) ले भनेजस्तो कुराले चिउरा भिज्दैन । अहिले त मलाई भोट चाहिएको छ । म लागेँ भोट माग्न’ भन्दै बिदा मागेर उनी तेतरियातिर हिँडे । द्वारिकलाल पनि गाडी चढेर सिद्राहातिर हान्निए ।

View : 190

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved