विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्री पठाउन नसकेर पार्टीभित्रै आलोचना भोगिरहेको नेपाली काङ्ग्रेसमा सिटौला समुहले भने मन्त्रीको नाम टुंगो लगाएको छ ।
स्रोतका अनुसार सिटौला समुहबाट भुपेन्द्र राई मन्त्री र भुमी प्रसाद राजवंशी राज्यमन्त्री बन्ने निश्चित जस्तै भएको जनाइएको छ ।
‘अहिलेसम्म सिटौला समुहको मात्रै नाम कन्फर्म भएको छ, मन्त्रीमा माननीय भुपेन्द्र राई र राज्यमन्त्रीमा भुमी प्रसाद राजवंशीको नाममा सहमति बनेको छ’ स्रोतले भन्यो, ‘मन्त्रालय भने टुंगिन बाँकी छ, मन्त्रालय टुंगिदा सिटौला समुहका दुवैजना एउटै मन्त्रालयमा रहने सम्भावना छ ।’
मन्त्रीमा नाम टुंगो लागेको दाबी गरिएका राई खोटाङको १ (२) बाट निर्वाचित भएका सांसद हुन् । राजवंशी झापाको ३ (१) बाट निर्वाचित भएका थिए ।
सिटौला समुहमा मन्त्रीका लागि विराटनगरका भीम पराजुली पनि आकांक्षी थिए ।
यता सिटौला समुहले मन्त्रीको नाम टुंगो लगाउँदा सभापति शेरबहादुर देउवा र शेखर कोइराला समुह भने निष्कर्षमा पुग्न सकेको छैन । काङ्ग्रेस स्रोतका अनुसार शेखर समुहले दुईजना मन्त्री चाहिने अडान नछाडेका कारण देउवा समुहले समेत मन्त्री छान्न नसकेको जनाइएको छ ।
‘शेखर समुहले दुई मन्त्री नपाए नामै नदिने अडान लिएको छ’ स्रोतले भन्यो, ‘आज देउवा र शेखर समुहबाट नाम आउने सम्भावना पनि कम रहेको छ ।’
कांग्रेस–एमाले बिचको सत्ता समिकरणप छि कोशी प्रदेशमा नेकपा एमाले मात्रै सरकारमा छ । कांग्रेस भित्रको गुट विवादका कारण मन्त्री पठाउनै नसक्ने अवस्था कायम छ ।
माओवादीको समर्थनमा बनेको सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की सत्ता समीकरण फेरिएपछि अहिले काङ्ग्रेससँग सत्ता यात्रामा छन् । कोशीमा काङ्ग्रेसले कार्की नेतृत्वको सरकारलाई समर्थन समेत जनाइसकेको छ । तर काङ्ग्रेसले मन्त्री नपठाउँदा कार्कीले कोशीमा एमालेको मात्रै एकल सरकार संचालन गर्दै आइरहेका छन् ।
गत साउन १९ मा माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो । त्यसपछि खाली भएका मन्त्रालयमा काङ्ग्रेसले मन्त्री पठाउन नसकेको हो ।
दुई दलबीच माओवादी केन्द्रलाई दिएकै मन्त्रालय काङ्ग्रेसले पाउने गरी समझदारी बनेको थियो ।
View : 233
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved