महानगरद्वारा सामुदायिक विद्यालयहरूको अनुगमन सुरु
विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली गठन गरेर अनुगमन थालेको छ ।
अनुगमन समितिले बुधबारदेखी विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन थालेको हो ।
बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहा गरी ६ वटा विद्यालयको अनुगमन गरेको महानगरले जनाएको छ ।
समितिले टोलीलाई समग्र सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने, सिकाई उपलब्धि बढाउनका लागि आवश्यकताका आधारमा विज्ञसमेत परिचालन गर्नेलगायतका कार्यदेश दिइएको अनुगमन समितिका सदस्यसचिव कृष्ण भट्टराईले जानकारी दिए ।
शिक्षा समितिका सदस्य रमानाथ भट्टराईको संयोजकत्वको टोलीमा शिक्षा समितिका सदस्य त्रिलोक न्यौपाने, सावित्री पराजुली र सन्तोष पोखरेल छन ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले महानगरले सबै प्रधानाध्यापहरूसंग कार्यसम्पादन करार सम्झौता समेत गरेको थियो ।
अनुगमनका क्रममा पठनपाठनमा लापरबाही गरेको भेटिएमा कारबाही गर्नेसम्मको अधिकार अनुगमन टोलीलाई दिएको मेयर नागेश कोइरालाले बताए ।
View : 172
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved