Biratnagar, Morang, Nepal
२८ असार २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

माजिद अन्सारीलाई रिहा गर भन्दै मध्यराति मोरङ प्रहरीको गेटमा धर्ना दिने को हुन् ?

उद्‌घोष संवाददाता
२८ असार २०८३, आइतवार

Advertisement

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेटमा शनिबार मध्यराति धर्ना बसेका विराटनगरका २६ जना युवा पक्राउ परेका छन् ।

रातिको समय भएकाले सम्झाउने प्रयास गर्दा पनि अटेर गरी प्रहरीको कामकारबाहीमा बाधा–अवरोध गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

शनिबार राति करिब ११ः३० बजे काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भएको घटनाको विरोधमा उनीहरू धर्नामा बसेको प्रहरीले जनाएको छ ।

सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि विस्थापित हुन बाध्य भएका सुकुम्बासी परिवारको अवस्था बुझ्न गएका जेनजी अभियन्ता माजिद अन्सारीसहितको समूहलाई प्रहरीले शनिबार अपराह्न निर्घात कुटपिट र गालीगलौज गर्दै बलपूर्वक नियन्त्रणमा लिएको आरोप छ ।

प्रहरीले अन्सारीसहित सरिश्मा थापा र नहेन्द्र खड्कालाई नियन्त्रणमा लिएर पछि रिहा गरेको थियो । सोही क्रममा प्रहरीको कुटपिटबाट घाइते भएका अन्सारी भने प्रहरी नियन्त्रणमै उपचाररत रहेको जनाइएको छ ।

अन्सारीमाथि राज्यबाट भएको दमनपूर्ण व्यवहारको विरोध गर्दै घटनाको छानबिन गर्न तथा उनलाई विनाशर्त रिहा गर्न दबाब दिने उद्देश्यले युवाहरू जिल्ला प्रहरी कार्यालय मोरङको मूलगेटमा धर्ना बसेका थिए। धर्नाकै क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजविराजका अमरेश माली र कृष्ण यादव, सुनसरीको देवानगञ्ज–२ का मो. अकबर, विराटनगर मो. दिल, रोहित सहनी, मोहमद अफरोज, अंकित राजवंशी, आसिफ उमर, चाँद चाहिद, अफताब सेख, अरमान सेख, दिपेश कुमार राय रहेका छन् ।

त्यसैगरी, रिहान सेख, मेहबुच आलम, सारुखान शर्मा, मो. तौफिक उमर, आसिफ सेख, सचिन कुमार मण्डल, मो. जसमेद आलम, अस्लम समी, प्रियान्स कुमार कर्ण, फरन खान, अमिर जमाली, मो. सिन आलम, अन्जर खान र सकी आलम रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश १७ देखि २८ वर्ष उमेर समूहका छन् ।

उनीहरू हाल प्रहरी हिरासतमा रहेका छन् । नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

View : 244

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved