विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलास सिरोहिया पक्राउ नागरिकताको विषयसँग सम्बन्धित भएको बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको सम्वादमा अध्यक्ष ओलीले नागरिकताको विषयमा छानबिन गर्न मान्छे पक्राउ पर्दा प्रेस स्वतन्त्र हनन् नहुने प्रतिक्रिया दिएका हुन् ।
‘एकजना मान्छेलाई नागरिकताको विषयमा छानबिनगर्दा प्रेस स्वतन्त्रता कहाँबाट हनन् भयो, प्रेससँग के सम्बन्ध छ यसको ?’ गृहमन्त्रीले प्रतिशोध साँध्न पक्राउ गरेको हो भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘ संयोग त्यस्तो पर्यो होला, गृहमन्त्री भएपछि कारवाहीका कुरा त अघि बढ्लान्, नेपाली कांग्रेसले अति बाङ्गोटिङ्गो बनाएर प्रस्तुत गर्नु पर्दैन, आन्दोलन गर्नु जरुरी छैन ।’
उनले अहिले पार्टीभित्र कुनै पनि अलमल नरहेको बताए । विराटनगरस्थित नेकपा एमाले मोरङको कार्यालयमा नेताहरु पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन भट्टराईको शालिक अनावरण गर्दै अध्यक्ष ओलीले एमालेलाई विचारमा एकताबद्ध बनाउँदै अघि बढेको बताए ।
उनले पार्टीका अग्रज नेताहरुको योगदान भुल्न नहुने बताए । एमाले राष्ट्रिय शक्ति भएको दाबी गर्दै ओलीले एमालेलाई निर्वाध रुपमा अघि बढ्ने बताए ।
एमाले मोरङले लेटाङ नगरपालिकाको सहयोगमा एउटै ढुंगाबाट तीनजना नेताहरुको शालिक निर्माण गरेको हो । शिल्पकार गणेश तामाङको नेतृत्वमा बालकुमार तामाङ र शिव छाङ्छा राईले शालिक निर्माण गरेका हुन् । सोही अवसरमा उनीहरुलाई ओलीले सम्मान पत्र प्रदान गरेका छन् ।
नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्कीले तीन नेताहरुको शालिक स्थापना गर्ने तीन बर्षदेखिको सपना पूरा भएको बताए । शालिक अनावरणमा एमाले मोरङका अध्यक्ष एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्थायी कमिटी सदस्य गुरु बराल र केन्द्रीय सदस्य जीवन घिमिरे लगायतको उपस्थिति थियो ।
View : 274
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved