Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

ब्याड राख्नु अगावै धानको मूल्य सार्वजनिक

उद्‌घोष संवाददाता
२३ पुष २०८२, बुधवार

धानको समर्थन मूल्य तोक्ने कार्यक्रमका सहभागीहरू । तस्वीर : उद्घोष

विराटनगर । किसानलाई खेतीमा आकर्षित गर्दै आएको आरजु राइस मिलले आगामी चैते धानको ब्याड राख्नु अगावै अब उत्पादन हुने धानको मूल्य सार्वजनिक गरेको छ । 

मोरङको बेलबारीस्थित डाँगीहाटमा रहेको सो मिलले मोरङ, झापा र सुनसरी जिल्लाका किसानलाई आकर्षित गर्दै आएको छ ।

मंगलबार मिलमा आयोजित एक सभामा किसानका प्रतिनिधिको उपस्थितिमा आगामी चैते धान (हर्दिनाथ ६) को प्रति क्विन्टल २ हजार ७ सय १० रूपैंयाँसम्म मूल्य सार्वजनिक गरेको हो । 

मिलका महाप्रवन्धक डा.विवेकानन्द झाले धानमा ओसको मात्रा अनुसार मूल्यमा केही फरक पर्ने बताए । ओस (नमी) को मात्रा १८ प्रतिशत भन्दा कम भए मूल्यमा पनि कमी आउने उनको भनाइ छ । 

चैते धानको ब्याड राख्नु अघिनै पछि उत्पादन हुने धानको मूल्य तोकिने गरेकाले तीन जिल्लाका किसान लाभान्वित हुँदै आएका छन् । 

मोरङ सुनवर्षीका अगुवा किसान टेकबहादुर विष्टले मिलले तोक्ने गरेको मूल्य राम्रो भएकाले चैते धान खेतीमा किसान आकर्षित भएको बताए । 

खाद्य संस्थानले खरिद गर्ने भए पनि धान लैजानका लागि कर्मचारीले तीन दिनसम्म कुराउने गरेको बताउने उनले किसानलाई कृषि विकास बैंकले पनि कर्जाको कार्यक्रम सकिएको भनेर हेप्ने गरेको जानकारी दिए ।

झापा भद्रपुर–१ स्थित पुष्पाञ्जली महिला कृषि समूहका अध्यक्ष तुलसा थापाले धानको मूल्य नपाएर झापाका किसान भौतारिइ रहेको अवस्थामा आरजु मिलले सान्त्वना दिएको बताइन् । 

‘राज्यले गर्ने काम निजी मिलले गर्दै आएको छ, अघिल्लो दिन एक हजार दरकको धान भोलिपल्ट ६ सयमा झारेर ब्यापारीले कालो बजारी गर्दै आएको बेला मिलले उनीहरूको सिण्डिकेट तोडेको छ’ झापा बैगुनधुराका अगुवा किसान बाबुराम बस्नेतले भने ।

उनका अनुसार नेपाल सरकारले सही धानको बीउ स्वीकृत नगर्दा बिघामा ७० मनसम्म उत्पादन हुने धानको भरमा खेती गर्नु परेको बताउँदै सीमापारिबाट ल्याइने बीउबाट भने बिघामा एक सय २५ मनसम्म फल्ने गरेको जानकारी दिए । 

मिलका महाप्रवन्धक झाका अनुसार किसानको समूह वा सहकारीमार्फत पुस मसान्तसम्ममा मिलमा सम्झौता गर्ने किसानले मात्रै हाल तोकेको मूल्य पाउने छन् । 

धान मजाले नपाक्दै काटिएको खण्डमा ५ प्रतिशनसम्म हरियोपना पाइए मूल्यमा हेरफर हुने छ । कृषि विज्ञ मनोज यादवका अनुसार चैते धान हावा, घाम र पानी पाए उत्पादन धेरै हुन्छ । 

समयमा गोडमेल गरे किराको संक्रमणमा पनि कमी आउने भएकाले उत्पादन बढी गर्न सकिने उनको तर्क छ । 

नेपाल कृषि कम्पनीका निर्देशक डा रामचन्द्र खनालले मिलले नाफा भन्दा पनि किसानलाई लाभ दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले मिलले समयमै समर्थन मूल्य तोक्ने भएकाले पालिकाले पनि किसानलाई बिभिन्न शीर्षकमा सहयोग गर्दै आएको बताए । मिलले पहिले तोकेको मूल्य भन्दा बजार मूल्य बढेको खण्डमा बढेकै रकम दिने गरेको छ । 

आरजु मिल बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतले सञ्चालन गरेका हुन् ।

View : 153

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved