Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

रुसले बनायो नयाँ इबोला खोप

उद्‌घोष संवाददाता
१३ जेठ २०८३, बुधवार

मस्को । अफ्रिकामा इबोला सङ्क्रमणको जोखिम बढिरहेका बेला रुसले इबोलाको नयाँ स्ट्रेनविरुद्ध प्रभावकारी हुन सक्ने खोप विकास गरेको दाबी गरेको छ ।

दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त खोपले हाल प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ ।

दूतावासले रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूपविरुद्ध खोप विकास गरेको जानकारी दिएको जनाएको छ ।

विशेषगरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुन्डिबुग्यो स्ट्रेनविरुद्ध पनि यो खोप उपयोगी हुन सक्ने दाबी गरिएको छ ।

मध्य अफ्रिकामा फैलिरहेको इबोला प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूको चिन्ता बढिरहेका बेला रुसले नयाँ इबोला स्ट्रेनविरुद्ध खोप विकास गरेको घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम (आइएचआर) २००५ अन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मे १७ मा कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) र युगान्डामा देखिएको इबोला प्रकोपलाई ध्यानमा राख्दै अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ (पीएचइआइसी) का रूपमा वर्गीकृत गरेको थियो ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले पनि कङ्गो र युगान्डामा फैलिरहेको बुन्डिबुग्यो स्ट्रेनसँग सम्बन्धित इबोला भाइरस रोगको प्रकोपलाई औपचारिक रूपमा पुष्टि गरेको छ ।

यसबीच, डब्लुएचओको आइएचआर आपतकालीन समितिले मे २२ मा थप सतर्कताका उपाय सुझाउँदै अस्थायी सिफारिसहरू सार्वजनिक गरेको थियो ।

समितिले बुन्डिबुग्यो भाइरस पुष्टि भएका क्षेत्रबाट आएका अस्पष्ट ज्वरोका बिरामी यात्रुहरूको पहिचान, मूल्यांकन, प्रतिवेदन र व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय प्रवेश नाकाहरूमा रोग निगरानी प्रणाली थप बलियो बनाउन आग्रह गरेको छ ।

साथै, भाइरस देखिएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न पनि सिफारिस गरिएको छ । प्रेस विज्ञप्तिअनुसार कंगो लोकतान्त्रिक गणतन्त्र र युगान्डासँग सीमा जोडिएका देशहरू, विशेषगरी दक्षिण सुडानलगायतका क्षेत्रमा रोग फैलिने जोखिम उच्च रहेको आकलन गरिएको छ । इबोला रोग अत्यन्त गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो ।

यो इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेनको सङ्क्रमणबाट उत्पन्न हुन्छ । यो रोग उच्च मृत्युदरसँग सम्बन्धित मानिन्छ ।

हालसम्म बुन्डिबुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त भएको छैन ।

यही सन्दर्भमा रुसले गरेको नयाँ खोप विकासको दाबीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य समुदायले चासोका साथ हेरिरहेको छ । (रासस/एएनआई)

View : 221

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved