Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

सुनकोशीमा बेपत्ता तीनै जना बालबालिकाको शव फेला

उद्घोष सम्वाददाता
१४ चैत २०८०, बुधवार

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङघाटस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन बालबालिकाहरूमध्ये सबैको शव भेटिएको छ । 

डुबेर बेपत्ता भएका मध्ये दुईजनाको शव तीन दिनपछि बुधबार भेटिएको त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमबहादुर मगरले जानकारी दिए । 

रुद्र बहादुर मगरकी छोरी १२ वर्षीया रेखा मगरको शव बुधबार बिहान करिव ६ बजेतिर भेटिएको हो ।

मेहरमान मगरको १२ वर्षीय छोरा लोकबहादुर मगरको शव दिउँसो १ बजेतिर सुनकोशी नदी किनारमा तैरिएको अवस्थामा फेला परेको जनाइएको छ ।

सुनकोशीको गड्तिरमा गत आइतबार दिउँसोदेखि होली खेल्न भन्दै गएका १५ जना बालबालिकाहरू मध्ये तीनजना पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये केदार मगरका ९ वर्षीय छोरा रिदम मगरको शव भने मंगलबार एक किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ ।

रेखाको शव बुधबार उनीहरु डुबेर बेपत्ता भएको स्थानदेखि करिव साढे दुई किलोमिटर तल दुर्गेढुंगामा र लोकबहादुरको शव करिव ५ किलोमिटर तल कम्पुघाटमा भेटिएको जनाइएको छ ।

रिदमको शव मंगलबार एक किलोमिटर तल खोटाङतिर सुनकोशीको किनारमा भेटिएको थियो ।

बेपत्ता भएका बालबालिकाहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीय पनि परिचालन भएका थिए ।

View : 176

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved