Biratnagar, Morang, Nepal
८ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

फेरि जोखिममा छ पूर्वी पहाडको ‘लाइफलाइन’

अवरुद्ध भइरहने मेची राजमार्गको वैकल्पिक सडक पनि भरपर्दो नहुँदा  कोशी पहाडी जिल्लाका बासिन्दा संकटमा छन् ।
उद्‌घोष संवाददाता
८ असार २०८३, सोमवार

Advertisement

विराटनगर । गएको बिहीबार रातिको वर्षाले फेरि एकपटक पूर्वी पहाडको यातायात संरचनाको कमजोर वास्तविकता उजागर गरेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङलाई तराईसँग जोड्ने मुख्य मार्ग मेची राजमार्गको राजदुवाली खण्ड जोखिमपूर्ण रहदै आएको छ । यसपटक बर्खाको सुरुमै समस्या दोहोरिएको छ ।  

केही दिनयता वैकल्पिक भनिएको सिमलगोलाई–जोगमाई–तिल्केनी सडक पनि अवरुद्ध हुँदा भविष्यको भरपर्दो विकल्पका रूपमा हेरिएको केचना–कञ्चनजंघा सडकअन्तर्गतको इलाम–झापा ‘फास्ट ट्रयाक पनि पूर्ण रूपमा बन्द भयो । 

हरेक बर्खामा दोहोरिने यो दृश्यले एउटा गम्भीर प्रश्न उठाएको छ, पूर्वी पहाडको जीवनरेखा मानिएको सडक सञ्जाल आखिर कहिलेसम्म यति कमजोर रहने ? मेची राजमार्ग इलाम, पाँचथर र ताप्लेजुङका लागि केवल सडक मात्रै होइन लाइफलाइन नै हो ।

यही सडकबाट बिरामी अस्पताल पुग्छन्, कृषकले उत्पादन बजार पठाउँछन्, विद्यार्थी आवतजावत गर्छन् र पर्यटक पहाड उक्लिन्छन् । वर्षा सुरु भएसँगै यही राजमार्ग  बारम्बार संकटमा पर्ने गरेको छ ।

गतवर्षको विनाशकारी बाढी–पहिरोले राजदुवालीसहितका धेरै खण्ड तहसनहस बनाएको थियो । त्यसयता मर्मत जारी भए पनि स्थायी समाधान निस्कन सकेको छैन । 

यसपटक पनि सामान्य वर्षामै राजदुवालीमा हिलो जम्यो, पहिरोको जोखिम बढ्यो र यातायात सञ्चालन कठिन बन्यो । 

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार समस्या सडकमा मात्रै नभएर भौगोलिक बनोट नै चुनौतीपूर्ण छ ।

‘खोलाबाटै पर्खाल उठाएर सडक अड्याउनुपर्ने अवस्था छ,’ भट्टराई भन्छन्, ‘बिहीबार रातिको बाढीले सडक मर्मतका लागि राखिएका सामग्रीसमेत बगाइदियो । मौसमले साथ नदिंदा काममा निरन्तर असर परेको छ ।’ 

राजदुवालीको समस्या नयाँ भने होइन । वर्षौंदेखि पहिरोले सताइरहेको यो खण्डलाई सुरक्षित बनाउन करोडौं खर्च भए पनि स्थायी समाधान निस्कन सकेको छैन । पहिरोले एउटै ठाउँका चारवटा सडक खण्डलाई निरन्तर असर गरिरहेको छ ।
यस्तो अवस्थामा सरकारको योजना थियो, केचना–कञ्चनजंघा सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्ने । 

झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजंघा आधार शिविरसम्म जोड्ने यो मार्ग पूरा भए पूर्वी पहाडको यातायात संरचनामा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको थियो । तर जुन सडकलाई विकल्प बनाउने सपना देखिएको थियो, त्यही सडक अहिले निर्माणको सुस्त गतिका कारण समस्याको अर्को प्रमाण बनेको छ ।

इलामको बेलासे–राकसे–गोलाखर्क भञ्ज्याङ खण्डको साढे नौ किलोमिटर सडक निर्माणका लागि २०७८ असारमा सम्झौता भएको थियो । 

दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको यो आयोजना पाँच वर्ष पुग्न लाग्दा पनि आधा काम सम्पन्न हुन सकेको छैन । भौतिक प्रगति ४६ प्रतिशतमा सीमित छ । 

संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हालै निर्माण कम्पनीको कामप्रति असन्तुष्टि जनाउँदै ठेक्का तोड्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । 

डिभिजन प्रमुख भट्टराईका अनुसार सडक चौडा बनाउने, नाली, टेवा पर्खाल, ह्युमपाइप, सब बेस र कालोपत्रेसहितको काम सम्झौतामा भए पनि अहिलेसम्म कालोपत्रेको एक फिट सडकसमेत बनेको छैन । 

‘निर्माण व्यवसायीलाई पटक–पटक स्पष्टीकरण सोध्यौं, काम सक्ने प्रतिबद्धता पनि आयो,’  भट्टराई भन्छन्, ‘तर काम गरेजस्तो देखाउने बाहेक प्रगति भएन ।’ 

यदि यही सडक समयमै सम्पन्न भएको भए अहिले राजदुवालीको विकल्पका रूपमा प्रयोग गर्न सकिने थियो । ढिलासुस्तीका कारण पूर्वी पहाडका नागरिक फेरि एउटै सडकमा निर्भर हुन बाध्य छन् ।

इलामका बासिन्दा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य धीरेन चेम्जोङ भन्छन्, ‘अब त इलामलाई दुर्गम जिल्ला घोषणा गर्नुपर्ने अवस्था आएको छ । पर्यटकीय जिल्ला भनिन्छ, तर मुख्य सडकको स्थायी समाधान आजसम्म हुन सकेको छैन । यसको जवाफ कसले दिने ?’ 

बेलासेको माइखोलामा निर्माणाधीन बेलीब्रिजको आधार नै  बाढीले बगाएको छ । पुवाखोलाको डाइभर्सन पनि भत्किएको छ । 

स्थानीय सविन लोक्तामका अनुसार खोलो तर्न नसक्दा बालबालिका विद्यालय जानसमेत सकिरहेका छैनन् ।

गत वर्षको असोजको बाढी–पहिरोले इलाममा मात्र करिब १२ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुर्याएको थियो । त्यसमध्ये सात अर्ब रुपैयाँभन्दा बढी सडक र पुलमै क्षति पुगेको सरकारी तथ्यांक छ । 

३९ जनाको ज्यान गएको त्यो विपद्पछि इलामलाई ‘विपद् संकटग्रस्त जिल्ला’ समेत घोषणा गरिएको थियो ।

सरकारले पुनर्निर्माणका लागि दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सुनिश्चित गरे पनि बजेट निकासा, सामग्री खरिद र निर्माण प्रक्रियाको ढिलाइले धेरै काम अझै अधुरै छन् । परिणामस्वरूप, अर्को बर्खा सुरु भइसक्दा पनि धेरै संरचना उस्तै बेहाल अवस्थामै छन् ।

View : 45

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved