Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

जनप्रशासन अध्ययनमा मोरङ क्याम्पस उत्कृष्ट

बीपीए तहमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी सुशोभन सुवेदीले उत्कृष्ट जीपीए हासिल गर्दै नेपाल प्रथम हुन सफल भएका छन् । त्यस्तै, हालै प्रकाशित बीपीए प्रथम सेमेस्टरको परीक्षा नतिजामा पनि सोही क्याम्पसकी छात्रा क्रिष्टिना कोइराला देशैभरीकै प्रथम भएकी छन् ।
उद्‌घोष संवाददाता
४ असोज २०८३, आइतवार

Advertisement

विराटनगर  ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत जनप्रशासन ( विषयको अध्ययन–अध्यापनमा पूर्वाञ्चलकै अग्रणी शैक्षिक धरोहर महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले लगातार उत्कृष्ट सफलता हासिल गर्दै नयाँ कीर्तिमान बनाएको छ ।

क्याम्पसका विद्यार्थीहरूले जनप्रशासन स्नातक (बीपीए) तहमा देशैभरिमै सर्वोत्कृष्ट नतिजा (नेपाल प्रथम) ल्याएर क्याम्पसको गरिमा थप उचाइमा पुर्‍याएका छन् ।


बीपीए तहमा महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी सुशोभन सुवेदीले उत्कृष्ट जीपीए हासिल गर्दै नेपाल प्रथम हुन सफल भएका छन् ।

त्यस्तै, हालै प्रकाशित बीपीए प्रथम सेमेस्टरको परीक्षा नतिजामा पनि सोही क्याम्पसकी छात्रा क्रिष्टिना कोइराला देशैभरीकै प्रथम भएकी छन् ।

 

हालै सम्पन्न परीक्षामा सहभागी १८ जना विद्यार्थी नै शतप्रतिशत उत्तीर्ण भई उच्च शैक्षिक नतिजा हासिल गर्न सफल भएका छन् ।


हाल नेपालभर काठमाडौँस्थित जनप्रशासन क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस र विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मात्र जनप्रशासन विषयको अध्यापन हुँदै आएको छ ।

सरकारी सेवा, निजामती प्रशासन, सुरक्षा निकाय (प्रहरी प्रशासन) का अधिकृत तह तथा निजी एवं गैरसरकारी संघसंस्थाका प्रशासनिक जिम्मेवारीमा प्रवेश गर्न यो विषय अत्यन्तै उपयोगी र प्रभावकारी मानिन्छ ।

 

यही कारण महेन्द्र मोरङमा बीपीए अध्ययन गरेका थुप्रै जनशक्ति अहिले सरकारी कार्यालय तथा प्रहरी प्रशासनका अधिकृत तहमा सफलतापूर्वक कार्यरत छन् ।

महेन्द्र मोरङ क्याम्पसमा वि.सं. २०६७ सालदेखि एमबीएस र जनप्रशासन स्नातकोत्तर (एमपीए) को पढाइ सुरु भएको थियो ।

 

एमपीएतर्फ २०७२ सालदेखि नै सेमेस्टर प्रणाली लागू गरिएको थियो ।

त्रिविले २०७४ सालदेखि स्नातकोत्तर तहमा देशव्यापी रूपमा अनिवार्य सेमेस्टर प्रणाली लागू गर्नुअगावै यहाँ अभ्यास सुरु भइसकेको थियो भने २०७४ देखि एमबीएसमा पनि सेमेस्टर प्रणाली लागू भयो ।

 

यस्तै, स्नातक तहको बीपीए कार्यक्रम वि.सं. २०७४ सालदेखि सेमेस्टर प्रणालीबाटै औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

तत्कालीन व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुख तथा बीपीए निर्देशक मोहनकुमार श्रेष्ठको कार्यकालमा बीपीएको सुरुआत तथा एमपीएको सुदृढीकरण भएको थियो ।

श्रेष्ठले वि.सं. २०७२ देखि २०७८ सम्म सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने त्यसपछि २०७८ देखि २०८२ सम्म डा डिल्ली पोखरेलले सो जिम्मेवारी बहन गरेका थिए । 

 

व्यवस्थापन संकायतर्फका सहायक क्याम्पस प्रमुखले नै बीपीए, एमपीए र एमबीएस कार्यक्रमको निर्देशकका रूपमा समग्र संयोजन तथा रेखदेख गर्दै आएका छन् ।

वि.सं. २०८२ साउनदेखि सहायक क्याम्पस प्रमुख तथा कार्यक्रम निर्देशकको जिम्मेवारी प्राध्यापक रवि रोकाले सम्हाल्दै आएका छन् ।

 

वि.सं. २०४२ सालदेखि विद्यालय तह र २०६० सालदेखि उच्च शिक्षा प्राध्यापनमा निरन्तर सक्रिय रोकाको लामो प्राज्ञिक अनुभव तथा प्राध्यापकहरूको समर्पणकै कारण क्याम्पसले लगातार राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा दिन सफल भएको हो ।

 

दक्ष प्रशासनिक जनशक्ति उत्पादन गर्ने उर्वर थलोका रूपमा महेन्द्र मोरङ क्याम्पसले आफूलाई देशकै प्रमुख शैक्षिक केन्द्रका रूपमा स्थापित गर्दै लगेको छ ।

View : 66

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved