विराटनगर। इलामको क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा २६ वर्षीय अर्जुनविक्रम शाही स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लड्ने तयारीमा जुटेका छन् । शाही बाँकेको कोहलपुर नगरपालिका–३ का बासिन्दा हुन् ।
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा स्नाकोत्तर गर्दै गरेका शाहीले इलाम–२ मा चुनावी अभियान समेत सुरु गरिसकेको बताएका छन् । सूचना प्रविधिमा समेत चासो राख्दै आएका शाहीले त्रिचन्द्र क्याम्पसबाट वीएससी र नेपाल ल क्याम्पसबाट एलएलबी गरिसकेको दाबी गरेका छन् ।
चुनावी अभियानका क्रममा अहिलेसम्म सात पटक इलामको निर्वाचन क्षेत्र नम्बर २ मा पुगेर स्थानीय मतदाताहरुसँग आफ्नो एजेण्डा प्रस्तुत गरिसकेको शाहीले जानकारी दिए । आफूले स्वतन्त्र उम्मेदवारी दिएर लौरो चुनाव चिन्हमा मैदानमा उत्रिने दाबी गरे ।
अहिलेको संसदीय व्यवस्थाको निर्वाचन प्रणालीले राजनीतिक अस्थिरता पैदा गरेको भन्दै शाहीले प्रत्यक्ष कार्यकारी प्रमुखको बाटो रोज्नु उपयुक्त हुने बताए । मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै आएका शाहीले आफुले इलाम–२ को विकासको मुख्य ऐजेण्डा लिएर चुनावी मैदानमा उत्रिने बताए ।
माओवादीको सशस्त्र जनयुद्धको समयमा अछामबाट बिस्थापित भएर परिवारै कोहलपुर झर्नु परेको र त्यहींबाट संघर्ष गर्दै मुलुक परिवर्तनका लागि निर्वाचन लड्नेसम्मको तयारीमा जुटेको उनले बताए ।
‘अहिलेसम्म जोसुकै संसदमा पुगेपनि इलामका जनताको आवाजले प्रतिनिधित्व नगरेको महसुस गरेको छु’ उनले भने, ‘इलामे जनताको न्यूनतम् आवश्यकता पनि पूरा भएका छैनन्, विकासको काम ९९ प्रतिशत पनि पूरा नभएको जस्तो लागेको छ ।’
शाहीले उपनिर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुग्दा जनताले न्यूनतम् आवश्यकताहरु समेत पूरा नभएको, कृषि क्षेत्रको उत्पादनको बजारिकरण हुन नसकेको, बिचौलियाको रजगज भएको, फिक्कल र कन्याममा मात्रै पर्यटनको विकास भइरहेको गुनासो आएको बताए । त्यसैगरी इलाममा स्वास्थोपचार सेवा समेत प्रभावकारी नभएको आफूले गुनासो सुनेको जानकारी दिए ।
‘इलाममा १०३ डिग्रीभन्दा माथि ज्वरो आयो भनेपनि दमक पुग्नुपर्ने अवस्था रहेछ, बाटोघाटो पनि पुगेको देखिएन, बाँदरको समस्या निकै ठूलो देखियो’ शाहीले भने, ‘राजनीतिक नारा धेरैले लगाए होलान्, मैले विकासको नारा लिएर मैदानमा उत्रिन लागेको छु, सवैले साथ दिने विश्वास गरेको छु ।’
View : 290
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved