Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

जापानको लोभमा फसेका अधिकारी जापानकै पत्रले जोगिए

उद्‌घोष सम्वाददाता
१२ मंसिर २०८१, बुधवार

विराटनगर । पेशागत रुपमा स्थापित कानुन व्यवसायी अनि राजनीतिक रुपमा दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद, एकपटक राज्यमन्त्री र दुईपटक मन्त्री । एमाले सांसद लीलाबल्लभ अधिकारीको यो सफल यात्रा यसपटक उनकै शब्दमा ‘ठूलो एम्बुस’ मा पर्यो । त्यो पनि अरु कसैको कारणले होइन, आफ्नै कारणले ।

मन्त्री पदमा रहेका बेला कुनै प्रक्रिया नपुर्याई विचौलियालाई राहदानी बुझाएर सुटुक्क जापान उडेका उनी मानव तस्करी जस्तो गम्भीर विषयमा जोडिन पुगे । यही कारणले छँदाखादाको मन्त्री पदबाट उनले हात धुनुपर्यो, पार्टीमा आफै निवेदन हालेर ‘जिम्मेवारी खोसिदिन’ अनुरोध गर्नुपर्यो ।

यो विषय सार्वजनिक हुने बित्तिकै अधिकारीसँग लामो राजनीतिक सहयात्रा गरेका एमाले नेता जीवन घिमिरेलाई उद्घोषले यसबारे सोधेको थियो । 

एमाले मोरङका इञ्चार्जसमेत रहेका घिमिरेले त्यसबेला भनेका थिए ‘उहाँ यति गम्भीर अपराध गर्न त के कल्पना पनि गर्न नसक्ने मान्छे हो । तर, जे विषयलाई पनि ज्यादै हलुका रुपमा लिने, धेरै गम्भीर नहुने उहाँको सदाबहार कमजोरी हो । उहाँ त्यही कमजोरीको शिकार बन्नुभए जस्तो लाग्छ । जापान पुगेर आइदिउँ भनेर उहाँ गए जस्तो लाग्छ ।’

घिमिरेको जस्तो अनुमान गर्नेहरु विराटनगरमा धेरै थिए । अभियोग लाग्ने बित्तिकै उनलाई ‘मानव तस्कर’ भन्नेहरु पनि धेरै भए । यो प्रकरणमा जापान सरकारले नेपाललाई पठाएको एउटा पत्रले अधिकारीलाई कानुनी रुपमा भने जोगाएको छ ।

अधिकारी आफैले आफूहरुलाई जापान छिर्न लागेका व्यक्तिबारे जानकारी दिएको भन्दै जापान सरकारले पठाएको पत्र नेपालले पाएपछि काठमाडौं जिल्लाको सरकारी वकिल कार्यालयले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको थियो । यो निर्णय भएपछि १६ दिन लामो हिरासत बासपछि अधिकारी रिहा भइसकेका छन् ।

अधिकारीले सरकारी वकिलसँगको बयानमा पनि आफू ‘आयोजककै खर्चमा जापान घुमेर आउने भएपछि प्रक्रियामा सहभागी भएको’ बताएका छन् ।

अधिकारीको रिहाइलाई लिएर रास्वपाले सरकारले आफ्ना मान्छे जोगाएको तर सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेको प्रष्ट भएको आरोप लगाएको छ । अधिकारीले भने आफ्नो बयानमा आफूले ‘पैसा नतिरी जापान घुम्ने लोभ’ ले यसो गर्नुपरेको आसय प्रकट गरेका छन् ।

‘केही समयअगाडि मलाई मेरो छिमेकी रतुवामाई नगरपालिका स्थायी घर भएका मेरो पुरानो साथी गोपाल भन्ने योगराज गौतमले मलाई फोन गरी जापानमा एउटा राम्रो कार्यक्रम आयोजना हुँदैछ, गोपाल भन्ने योगराज गौतमले मलाई भनेकाले म सोहीअनुसार जापानमा गएको हुँदा मैले आयोजक कै खर्चमा जाने हो भने हुन्छ भनेको थिएँ ।’

उनले बयानमा अगाडि भनेका छन् ‘जापानको लागि फ्लाइटबाट हिंडेपछि हङकङमा ट्रान्जिट परेकोले म सोही ट्रान्जिटमा बसिरहेको समयमा मलाइ हाल पक्राउ परेका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पासमेत मलाई भेट्न आई हामीहरू समेत हजुरसँगै सोही कार्यक्रममा जानको लागि हिंडेको हो भनेपछि मलाई शंका लागि हङकङबाट जापानको लागि हिंडेपछि नारिता विमानस्थलमा झरी इमिग्रेशनमा लाइनमा बसिरहेको अवस्थामा कञ्चन देवकोटा, जनक राई र दावा शेर्पा समेतले हामीहरूलाई समेत सँगै लानु भन्दा मैले म तपाईहरूलाई चिन्दिनँ म एक्लै आएको हुँ भन्दा उनीहरूले कसरी चिन्नु हुन्न ? हामी तपाईकै कर्मचारी हौं भनी जनक राईले म मन्त्री रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको कर्मचारी परिचय पत्रसमेत देखाएपछि मैले सोही परिचय पत्र तत्कालै आफ्नो हातको हत्केलामा राखी मोबाइलबाट फोटो खिचेपछि प्रष्ट रूपमा थाहा भयो कि मलाई निमित्त कार्यालय प्रमुखको रूपमा उल्लेख गरी किर्ते परिचयपत्र बनाएको देखिएबाट यिनीहरूले मेरो सही छाप किर्ते गरी म तत्काल कार्यरत रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयको नक्कली कार्ड प्रयोग गरेका रहेछन् ।’ 

‘म यस अपराध घटनाको पीडित र अपराधको पहिलो सुचकसमेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन । मसँग हङकङमा भेट भएका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान समेत भइरहेको छ’, उनले बयानमा भनेका छन् ‘मेरो हैसियत भनेको अपराधको सूचना दिने सरकारी गवाह हो मेरो र मेरो मन्त्रालयको सही छाप र परिचयपत्र कीर्ते गरी बनाएको हुँदा म आफै पीडित हुँ, दोषीमाथि कारबाही गरी मैले न्याय पाउँ ।’

View : 115

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved