Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

आसन्न राष्ट्रिय सभा निर्वाचन: कोशीमा कांग्रेसबाट चार उद्योगी व्यवसायी उम्मेदवार सिफारिस

उद्घोष सम्वाददाता
१२ पुष २०८०, बिहिवार

विराटनगर । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले कोशी प्रदेशबाट ६३ जनाको सिफारिस गर्दा विराटनगरका नाम चलेका केही उद्योगी व्यवसायी पनि परेका छन् ।

समितिको सिफारिस सूचीअनुसार उद्योगी एवं संविधानसभा सदस्य पवन सारडा, उद्योगपति महेश जाजु, हसन अन्सारी र फूलकुमार लालवानीको नाम पनि परेको छ । 

राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सिफारिसमा परेका सारडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष हुन् । केही दिनअघि मात्र उनले पदभार ग्रहण गरेका थिए ।

सारडा दर्जनौं उद्योग व्यवसायमा संलग्न छन् । यसैगरी उद्योगपति जाजु पनि कांग्रेसको सिफारिसमा परेका छन् । यसअघि पनि उनी राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनी बिस्कुट, चाउचाउ लगायत धेरै उद्योग व्यवसायमा संलग्न छन् ।

पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका हसन अन्सारी पनि छाला उद्योगमा संलग्न छन् । पार्टीको महाधिवेशन प्रतिनिधि रहेका लालवानी सामाजिक कामसहित व्यवसायमा संलग्न छन् ।

पार्टीले उनीहरूको नाम सिफारिस गरे पनि उम्मेदवार बनाउने सम्भावना भने कमै रहेको बताइएको छ । कोशी प्रदेशबाट दुई सिटका लागि चुनाव हुँदैछ  । त्यसमा पनि गठबन्धन दलभित्र भागबण्डा गर्न बाँकी छ ।  

कांग्रेसले कोशी प्रदेशका १४ मध्ये ९ जिल्लाबाट ६३ जनाको नाम सिफारिस गरेको थियो । त्यसमध्ये पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखिएको छ । कांग्रेस प्रदेश कार्यसमितिले मर्यादा र पार्टीमा रहेको भूमिकाको आधार भन्दै उनीहरूको नाम सिफारिस गरेको जनाएको छ ।

आउँदो माघ ११ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोकिएको छ । फागुन २० गते राष्ट्रिय सभाको १९ सिटका खाली हुँदैछ ।

जसमध्ये कोशी प्रदेशबाट अन्य समूह र महिला गरी २ सिट खाली हुने जनाइएको छ । अन्य समूहबाट सदस्य निर्वाचित भई राष्ट्रिय सभाको संसदीय दलको नेता समेत रमेशजंग रायमाझीको कार्यकाल सकिँदैछ । कांग्रेस प्रदेश कार्यसमितिले सोही ठाउँमा सिटौलालाई अघि सार्ने योजनासहित नाम सिफारिस गरेको हो ।

प्रदेश समितिले सिटौलापछि पूर्व केन्द्रीय सदस्य महेश आचार्य, केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल, उमेशजंग रायमाझी, आङगेलु शेर्पा, तारामान गुरुङ, गुरुराज घिमिरे, पवन सारडा, रामकृष्ण भट्टराईसहित ३८ जनाको नाम सिफारिस गरेको छ ।

महिलातर्फ कोइरालासहित केन्द्रीय सदस्य डा.डिला संग्रौला, रुकमणि कोइराला, प्रदेश सदस्य सविता राई, गोमा केसी, बिना पौडेल, इन्दिरा कार्की, मिता आचार्य, शिशिरा राई र सीताराम राई लगायत २५ जनाको नाम सिफारिस गरेको छ । 

जिल्लाहरूबाट प्रदेश समितिमा नाम पठाउन तोकिएको समय सीमाभित्र ९ वटा जिल्लाले मात्रै नाम सिफारिस गरेको प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

नाम सिफारिसका लागि सोमबार कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाको अध्यक्षतामा बसेको बैठकले अन्यतर्फ सिटौला र महिलातर्फ कोइरालाको नाम पार्टीभित्रको भूमिका र मर्यादालाई ध्यानमा राखेर प्राथमिकतामा राखेर सिफारिस गरेको बताए ।

View : 117

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved