सुनसरी । नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा सञ्चालन भएको सि.सं ५१ औं एनसीसी जुनियर डिभिजन तालिमको दोस्रो चरणमा ५ सय २८ क्याडेट दीक्षित भएका छन् ।
पूर्वी तालिम शिक्षालय केराबारी मोरङमा बिहीबार आयोजित दीक्षान्त कवाज समारोहमा उनीहरुलाई दीक्षित गरिएको हो ।
राष्ट्रिय सेवा दल पूर्वी शिक्षालयले देशका १८ विद्यालयका क्याडेटहरूलाई तालिम दिएकोमा बिहीबार एक समारोहको आयोजना गर्दै उनीहरूको तालिम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै उत्कृष्ट गर्नेहरूलाई पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको हो ।
तालिममा प्रत्येक विद्यालयबाट ३० जनाको दरले क्याडेट सहभागी भएका थिए । जसमा १५ छात्र र १५ जना छात्रा रहेका थिए ।
तीन सातासम्म दिइएको उक्त तालिममा सैनिक आवासीय महाविद्यालयकी क्याडेट सुम्निमा लिम्बू छात्रातर्फ सर्वोत्कृष्ट भएकी छन् ।
पशुपती इङ्लीस बोर्डिङ स्कुल इटहरीका क्याडेट आयुस राई छात्रतर्फ सर्वोत्कृत हुँदै पुरस्कृत भए ।
सहभागी १८ विद्यालयमध्ये सिन्धुलीको आधुनिक बोर्डिङ स्कुल सर्वोत्कृष्ट प्लाटुनबाट पुरस्कृत भएको छ ।
दीक्षान्त कार्यक्रममा बोल्दै नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति उपरथी गौरबकुमार केसीले राष्ट्रिय एकताको भावना लिई काम गर्न क्याडेटहरुलाई निर्देशित गरे ।
कार्यक्रममा दीक्षित क्याडेटहरुले खुकुरी डिल, तेक्वान्दो पीटी, नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली सेनाले देशभरका विभिन्न सरकारी तथा निजी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहलाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम सञ्चालन गर्दै आएको छ ।
यस अन्तर्गत उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई सिनियर डिभिजन तालिम तथा माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई जुनियर डिभिजन तालिम सञ्चालन गरिन्छ ।
View : 173
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved