सुनसरी । नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन सुरु भएको छ । इटहरीमा शनिबार दिउँसो सुरु भएको अधिवेशनको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।
अधिवेशनमा ७ सय ३० प्रतिनिधि सहभागी छन् । पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशन दिए पनि सुनसरीमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना टर्दै गएको छ ।
अध्यक्षका लागि निलम खनाल र खेमराज पोखरेलले आकांक्षा देखाएका छन् । दुवै जनाले एक अर्काको नेतृत्व स्वीकार नगरेपछि सुनसरीको नेतृत्व छनोट चुनावी प्रक्रियाबाट हुने देखिएको छ ।
अध्यक्षको आकांक्षी पोखरेल यसअघि सातौं जिल्ला अधिवेशनमा पराजित भएका थिए । उनी रेवतीरमण भण्डारीसँग पराजित भएका हुन् ।
खनाल भने अहिलेका उपाध्यक्ष हुन् । पोखरेल र खनाल दुवै पार्टी अध्यक्ष ओली निकट हुन् ।
तर अघिल्लो अधिवेशनमा पार्टी अध्यक्ष ओलीको निर्देशनविपरीत पोखरेल अध्यक्षको प्रत्याशी भएपछि उनको सम्बन्ध ओलीसँग बिग्रिएको बताइन्छ ।
निर्वाचन भए ओलीको साथ वर्तमान उपाध्यक्ष खनाललाई रहने छ । ओलीले लाइन दिएपछि खनाल अध्यक्ष बन्ने तयारीमा लागेका हुन् ।
खनाललाई नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इञ्चार्ज शेरधन राई, वर्तमान अध्यक्ष रेवतीरमण भण्डारी, केन्द्रीय सदस्यहरू लक्ष्मी गौतम, जगदीश कुसियैतले साथ दिएका छन् ।
खेमराज पोखरेलको पक्षमा भने भीम आचार्य उभिएका छन् । यस्तै उनलाई १० बुँदे समर्थितहरूको पनि साथ रहने देखिएको छ ।
यसअघि पोखरेललाई केन्द्रीय सदस्य तथा मन्त्री भगवती चौधरीले साथ दिएकी थिइन् । तर यस पटक भने उनी मौन देखिएकी छन् ।
View : 488
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved