Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

सभामुखको कुर्सीमा उपसभामुखको पाँच महिना

उद्घोष सम्वाददाता
२४ पुष २०८०, मङ्गलवार

विराटनगर । गत साउन १६ मा तत्कालीन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि उपसभामुख सिर्जना दनुवारले पाँच महिना प्रदेशसभाको नेतृत्व गरिन् । मंगलबार राप्रपाका अम्बरबहादुर बिष्टलाई सर्वसम्मत सभामुख चयन भएको घोषणा गरेपछि उनले आफ्नो कार्यकालका उपलब्धी र अनुभवहरू पनि सुनाइन् ।

उपसभामुख दनुवारले साउन १७ यताको आफ्नो कार्यकालमा कोशी प्रदेशसभाभित्रका कामकारवाहीमाथि केही असन्तुष्टि जाहेर गरेता पनि सबै प्रदेश, संघीय व्यवस्थापिका र कार्यपालिकालाई समेत मार्गदर्शन हुने गरी अदालतले व्याख्या गरिदिएको बताइन् । जसका कारण संघीयताको सुदृढीकरणमा थप मद्दत पुगेको अनुभूति आफूले गरेको पनि उनले बताइन् ।

उपसभामुख दनुवारले यस्तो शाब्दिकतालाई लाक्षणिक अर्थ दिइन् । उनले सभामुख गौतमलाई राजीनामा दिनुपर्ने अवस्थाको सिर्जना हुनु र अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले सभामुखकै हैसियतमा सरकार बनाउन हस्ताक्षर गरेको विषयलाई अदालतले राम्ररी ‘कोर्स करेक्सन’ गरेकोतिर सोझ्याइन् ।

बिष्टलाई मंगलबार सभामुख चयन गर्न उनले यसअघिसम्म सम्वद्धता राखेको दल नेकपा एमालेले समेत औपचारिक साथ दिएपछि प्रदेशसभाको सभामुखको हैसियतबाट उनले प्रदेशसभालाई अदालतले बाटो देखाउनुपर्ने अवस्थाको सन्दर्भ जोडेकी थिइन् ।

‘मैले सभामुखको भूमिका निर्वाह गरेको अवधिमा मुख्यमन्त्रीको रुपमा तीन जना माननीय प्रदेशसभा सदस्यहरूले जिम्मेवारी सम्हाल्नुभएको, विशिष्ट परिस्थितिका कारणले र मेरो आफ्नै स्वास्थ्यका कारणले समेत अध्यक्ष मण्डलका माननीय सदस्यज्यूहरूले सभामुखको भूमिका निर्वाह गर्नुपरेको, हाम्रा काम कारवाहीको अदालतले व्याख्या गर्ने सन्दर्भमा स्पष्ट गरेको विषय समेत अनुभव गर्ने अवस्था श्रृजना भएको कुरा माननीय सदस्यज्यूहरूलाई विदितै छ’ उनले भनिन्, ‘संघीय शासन प्रणालीको अभ्यासको विषयमा कोशी प्रदेश सभाभित्रका काम कारवाहीलाई कसैले केही मात्रामा असन्तुष्टि जाहेर गरेता पनि सबै प्रदेश र संघीय व्यवस्थापिका र कार्यपालिकालाई समेत मार्गदर्शन हुने गरी अदालतले व्याख्या समेत गरिदिएका कारणले संघीयताको सुदृढीकरणमा थप मद्दत हुन पुगेको हामीले अनुभूति समेत गरेका छौं ।’

उपसभामुख दनुवारले आफूले प्रदेशसभाको नेतृत्व गरेको तेस्रो र चौथो अधिवेशनको बैठकहरुबाट पाँच वटा विधेयकहरु पारित भएको जानकारी दिइन् ।

उनले मंगलबारसम्म (आजसम्म) सभामुख समेतको भूमिका निर्वाह गर्दा आफ्नो कार्यावधि सफल गराउन सहयोग गर्ने प्रदेशसभाका सांसद, प्रदेश सरकार, राजनीतिक दलका नेता तथा पदाधिकारीहरूलगायतलाई धन्यवाद पनि दिइन् ।

उनले जनताले सुम्पेको जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्ने सफलता प्राप्त हुन सकोस् भन्दै शुभकामना पनि दिइन् ।

View : 190

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved