सिँचाइ अभावका कारण रोपाइँ गर्न नपाएपछि चिन्तामग्न अवस्थामा मोरङ कटहरी–१ हरिपुर बस्तीका ७३ वर्षीय किसान अर्जुन राजवंशी । फोटो : नवीन कर्ण/उद्घोष
विराटनगर । पर्याप्त बर्षात नहुँदा आकाशे पानीको भरमा धानखेती गर्दै आएका मोरङका किसानको खेतमा धाँजा फाटेको छ । सिँचाइको ब्यवस्था नरहेको तथा पर्याप्त बर्षात नहुँदा किसानको खेतखेतमै धानको बेर्ना सुक्न थालेको हो ।
मोरङ जिल्ला धान उत्पादनको हिसावले पकेट क्षेत्र मानिन्छ ।
नेपालमा धेरै धान फल्ने झापा जिल्लापछि मोरङको नाम आउँछ । तर यो वर्ष समयमै पर्याप्त वर्षा नभएपछि मोरङ जिल्लामा धान रोपाइँ ढिला भएको छ ।
आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण जिल्लाका अधिकांश खेतीयोग्य जमिन असारको अन्तिम सातासम्म बाँझै छन् ।
मोरङमा प्रायः जेठ महिनाबाट सुरु भई असारको दोश्रो हप्तासम्म वर्षे धानको रोपाइँ हुने गर्दछ । यद्यपि यो वर्ष पानीको अभावमा किसानले आफ्नो खेत बाँझै राख्न बाध्य छन् ।
आकाशे पानीको भरमा खेती गर्दै आएका मोरङको कटहरी गाउँपालिकाका अधिकांश किसानले हालसम्म रोपाइँ गर्न पाएका छैनन् ।
सिँचाइको व्यवस्था नहुँदा तथा मौसमी बर्षात समेत पर्याप्त नभएकाले धानको बेर्ना खडेरीका कारण खेतमै सुक्न थालेको कटहरी गाउँपालिका–१ हरिपुरका ७३ वर्षीय किसान अर्जुन राजवंशीले जानकारी दिए ।
खडेरीको कारण जमिन सुख्खा हुँदा धान रोपाइँ गरिएका जमिनसमेत अहिले चिरा–चिरा परेर फाटेका छन् । एकातिर आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र अर्कोतर्फ रोपाईं गरेको धान समेत खेतैमा सुक्न थालेपछि किसानहरू दोहोरो मारमा परेका छन् ।
कटहरी–१ कै अशोक चौधरीले २०–२५ दिनको बिउ रोप्नुपर्नेमा पानी अभावका कारण डेढ महिना भइसक्दा पनि रोपाइँ गर्न नपाएको गुनासो गरे ।
कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार असार २२ गतेसम्म कोशी प्रदेशको धान रोपाइँ हुने २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये २९ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको देखिन्छ ।
तीमध्ये झापामा २१ प्रतिशत, सुनसरीमा २४ र मोरङमा ३१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको उल्लेख छ ।
पानी कम परेका कारण विगतको तुलनामा यस वर्ष धान कम रोपाइँ भएको तथ्याङ्कमा उल्लेख छ ।
आउँदो सातासम्म पनि धानका लागि आवश्यक बर्षात नभए यस वर्षको उत्पादन नराम्ररी प्रभावित हुने अवस्था छ ।
View : 466
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved