Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

५० मेगावाटको युनाइटेड मेवा खोला हाइड्रोबाट दशैंअघि उत्पादनको तयारी

उद्‌घोष संवाददाता
१३ साउन २०८२, मङ्गलवार

विराटनगर । ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो जलविद्युत आयोजना युनाइटेड मेवा खोला हाइड्रोको निर्माण ९९ प्रतिशत पूरा भएको छ । ५० मेगावाट क्षमताको आयोजनाले यसै बर्ष दशैं अघि नै व्यवसायिक उत्पादन सुरु गर्ने जनाइएको छ ।

आयोजनाको विद्युत् गृह, सुरुङमार्ग, टर्वाइन जडानको काम अन्तिम चरणमा रहेको युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीका डेपुटी प्रोजेक्ट मेनेजर दिपेश अधिकारीले जानकारी दिए । 

९ अर्ब रुपैयाँ लागतमा निर्माणाधीन आयोजनाले भदौमा सम्पूर्ण परीक्षण सक्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए ।

‘आयोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको छ, ९८.५ भौतिक र ९२ प्रतिशत आर्थिक प्रगति पूरा भएको छ’ अधिकारीले भने, ‘दशैंभन्दा अगाडि नै राष्ट्रिय गृडमा जोड्ने तयारी छ, अर्को हप्तादेखि ड्राई टेष्ट सुरु हुन्छ ।’

उनले आगामी अगष्ट २० मा टनेलमा पानी पठाएर सुरुङ परीक्षण गरिने जानकारी दिए । 

ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमा र मिक्वाखोला गाउँपालिका–३ लिवाङको सिमाना भएर बग्ने मेवा खोलामा हाइड्रोको बाँध रहेको छ । 

बाँधबाट ४ दशमलव ८ किलोमिटर लामो सुरुङमार्गबाट पानी पठाएर मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा रहेको पावर हाउसमा झारेर विद्युत उत्पादन गरिने जनाइएको छ । 

पावर हाउसमा जडान गरिएका तीनवटा सीओएल टर्वाइनबाट विद्युत उत्पादन हुनेछ । टर्वाइन जडान अन्तिम चरणमा रहेको अधिकारीले जानकारी दिए । 

युनाइटेड मेवाबाट उत्पादन हुने विद्युतलाई आठ किलोमिटर लामो १३२ केभिए प्रशारण लाइनमार्फत मेवाखोला गाउँपालिका–१ ढुंगेसाँघुमा रहेको सबस्टेशनमा जोडिने छ । 

उक्त सबस्टेशनबाट कोशी करिडोर प्रशारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह हुनेछ । 

मेवा खोलामा निर्माण गरिएको सवैभन्दा ठूलो क्षमताको यो आयोजना रनअफ रिभर (आरओरआर) प्रणालीमा आधारित रहेको जनाइएको छ ।

ताप्लेजुङमा ७३ मेगावाट क्षमताको सवैभन्दा ठूलो मध्यतमोर जलविद्युत् आयोजनाले यसअघि नै विद्युत उत्पादन गरिरहेको छ ।

View : 285

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved