Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बढ्दैछ डिजिटल हिंसा

उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

विराटनगर । समाजका महिला हिंसाको स्वरुप बदलिंदै गएको पाइएको छ । 

प्रविधिको विकास र प्रयोग बढेका कारण भौतिक रुपमा हुने हिंसाका घटनाको साटो विद्युतीय माध्यम र सामाजिक सञ्जालको प्रयोगबाट हुने हिंसाका घटनामा बृद्धि भएको जनाइएको छ ।

ओरेक नेपाल र तरङ्गिनी फाउण्डेशनले बुधबार विराटनगरमा आयोजना गरेको सञ्चारकर्मीहरूको अन्तरक्रियामा घरेलु हिंसाको स्वरुप बदलिएर डिजिटल हिंसाको संख्या बढ्दै गएको चर्चा गरिएको हो । 

ओरेक विराटनगरकी प्रमुख शोभा बजगाईँले समाज हुने अनेकौं प्रकारका हिंसा मध्ये महिला हिंसा धेरै रहेको र पछिल्लो समयमा त्यस्तो हिंसाको रुप डिजिटल माध्यमबाट प्रकट हुन थालेको बताइन् । 

तरङ्गिनी फाउण्डेशनकी रुमा रिजालले डिजिटल माध्यमबाट भएका हिंसाका घटनामा पीडितलाई झन धेरै मानसिक असर पर्ने गरेको बताइन् । 

उनले त्यस्तो घटनापछिको अवस्थामा मानसिक स्वास्थ्यको समस्या बृद्धि भइरहेकोले सचेतनाको आवश्यकता रहेको बताइन् ।

दुवै संस्थाको सहकार्यमा मोरङ, सुनसरी र उदयपुरमा केही स्थानीय तहमा महिला, बालबालिका, किशोरीहरूमाथि हुने गरेको हिंसाका विरुद्धमा अभियानमुलक कार्यक्रम संचालन गरिएको छ । 

साथै हिंसा प्रभावितहरूलाई न्यायमा पहुँच बढाउन सवै पक्षबीच सहकार्यलाई प्राथमिकता दिइएको जनाइएको छ । 

कार्यक्रमका अवसरमा ओरेकले सुनसरी, मोरङ र उदयपुरमा गत जनवरीदेखि जुन महिनासम्म २११ वटा महिला हिंसाका घटनाहरू संकलन गरेकोमा सवैभन्दा बढी १४० जनामाथि घरेलु हिंसा भएको तथ्य सार्वजनिक गरेको छ । 

त्यस्तै यौन हिंसा ४६ वटा, सामाजिक हिंसा १२ वटा, अन्य हिंसाका घटना १३ वटा रहेका छन् । अन्य हिंसा अन्तरगत विद्युतीय र सामाजिक संजालमार्फत हुने हिंसाका घटना समेटिएको जनाइएको छ । 

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिसँगको सहकार्यमा आयोजित अन्तरक्रियामा महासंघ कोशीका उपाध्यक्ष कुमोद अधिकारीले लैंगिक हिंसा अन्त्यका लागि सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थाहरुसँग निरन्तर सहकार्य गर्न तयार रहेको बताएका थिए । कार्यक्रममा महासंघकी महासचिव हिमा कुमार चेम्जोङ लगायत विराटनगरका एक दर्जन सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

View : 559

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved