आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँगै सामुहिक तस्वीर खिचाउँदै माओवादी केन्द्रका मन्त्रीहरु । तस्वीर: मुख्यमन्त्रीको सचिवालय
विराटनगर । नौ महिनाअघि मात्रै एमालेलाई नैतिकताको पाठ सिकाएर प्रदेश सरकार छाड्न चेतावनी दिने नेकपा माओवादी यतिखेर भने हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा टाँसिइरहने जुक्तीमा लागेको छ । नेकपा माओवादी आफ्नै पूर्वअभिव्यक्तिको इमानविपरीत एमाले नेतृत्वको सरकारमा टाँसिएर बसेको हो । उसले कोशी प्रदेश सरकार छाड्ने छाँटकाँट देखाएको छैन ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ गठबन्धन बनाएसँगै माओवादी नेतृत्वमा रहेको संघ सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् । सोही गठबन्धन कोशीमा पनि कार्यान्वयन हुने निश्चित भइसक्दा पनि कोशीका माओवादी मन्त्रीहरू जबरजस्ती सरकारमा बसिरहने लोभ प्रदर्शन गरिरहेका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीदेखि एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीसम्मले ‘अहिलेको अवस्था बुझेर माओवादी आफैले राजीनामा दिनुपर्ने’ बताइरहेका छन् । तर, माओवादी मन्त्रीहरू भने त्यसको राजनीतिक सन्देश नबुझेझैं गरेर मुख्यमन्त्रीले राजीनामा नै नमागेको दाबी गर्छन् । माओवादीको यो कदम उसैले भन्दै आएको नैतिकताको कसीमा पनि गलत रहेको एमाले नेताहरू बताउँछन् ।
गएको कात्तिक १ गते प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूले पनि मत दिएका थिए । प्रदेशको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन हासिल गर्दै कांग्रेस नेता कार्की मुख्यमन्त्रीमा त्यही दिन अनुमोदित भएपछि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेलाई नैतिकताको पाठ पढाउन खोजेका थिए ।
‘तपाईलाई मुख्यमन्त्री हुनबाट रोक्ने मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभयो, के प्रतिक्रिया छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा आङ्बोले एमालेलाई लल्कार्दै भनेका थिए ‘आजदेखि कोशीमा हाम्रो गठबन्धनकै सरकार बन्यो । एमालेसित थोरै मात्रै नैतिकता बाँकी छ भने उसले तत्कालै सरकार छाडोस् ।’
एमालेप्रति आङ्बो आक्रोशको अन्तर्य नबुझिने थिएन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपासहितको तत्कालीन सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो । तर, केदार कार्कीले विद्रोह गरेर आङ्बोको मुखैमा आइसकेको मुख्यमन्त्री पद खोसेका थिए । कार्कीलाई एमालेले पूरा साथ दिएको थियो । त्यही आक्रोश आङ्बोले प्रदेशसभा परिसरमा देखाएका थिए ।
उनले प्रदेशसभा परिसरबाट एमालेलाई नैतिकताको पाठ सिकाएको नौ महिना भयो । यसबीचमा केन्द्रमा एमाले र कांग्रेस मिलेर नयाँ गठबन्धन बनाइसके । माओवादी सरकारबाट बाहिरियो, अब सातै प्रदेशमा विपक्षमा पुग्दैछ । यस्तो बेलामा पनि उनै आङ्बोको दलका मन्त्रीहरू भने जबरजस्ती सरकारमा बसिरहेका छन् ।
‘उनीहरूले आफै बुझेर राजीनामा दिनुपर्ने हो लाजै पचाएर सरकारमा बसिरहेका छन्’, एमाले कोशीका एक सांसदले भने ‘अब मुख्यमन्त्रीले गलहत्याउनुको विकल्प छैन ।’
यसअघि एमालेलाई नैतिकताका आधारमा सरकार छाड्न भन्ने माओवादी नेता आङ्बो आफै ‘मुख्यमन्त्रीले अहिलेसम्म केही नभनेको’ भन्दै लाचारी देखाइरहेका छन् ।
उनका दलका मन्त्रीहरू राजीनामा नदिने भन्दै सरकारमा सहभागी बनेर नियमित काममै छन् । ‘हामी अहिले पनि क्याबिनेट बैठकमा बसेर महत्वपूर्ण निर्णयहरू गरिरहेका छौं, राजीनामा दिने कुनै योजना छैन’, कोशी सरकारका भौतिक पूर्वाधार मन्त्री रहेका माओवादी नेता गणेश उप्रेतीले आइतबार भने ‘मुख्यमन्त्रीले हामीलाई राजीनामा दिनुस् भन्नुभएको पनि छैन । त्यसैले हामी सरकारमा रहन्छौं । तत्कालै छाड्ने कुरा छैन ।’
वैशाख २७ मा बनेको कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्री र एक जना राज्यमन्त्रीसहित माओवादी सामेल छ । भौतिक पूर्वाधार मन्त्रीका रुपमा गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र बन्दना झाँगर पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।
माओवादी नेताहरू कोशी सरकारबाट हट्न मुख्यमन्त्रीको प्रष्ट निर्देशन पर्खिरहेको बताउँछन् । मुख्यमन्त्री कार्कीले भने आफै राजीनामा दिएर हिंड्न माओवादी मन्त्रीहरूलाई भनिसकेका छन् । यसको पुष्टि प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि गरिसकेका छन् ।
‘मुलुकको राजनीतिक परिस्थिति बदलिएको छ । बदलिएको परिस्थितिको अवस्था बुझेर माओवादीका मन्त्रीहरू आफैले राजीनामा दिनुहुन्छ भन्ने मुख्यमन्त्रीको अपेक्षा छ, मुख्यमन्त्रीको यस्तो सन्देश माओवादीमा पुगिसकेको छ’ , भण्डारीले भने ‘उहाँहरूले त्यो परिस्थिति छिट्टै बुझ्नुहुनेछ भन्ने हामीलाई लाग्छ ।’
माओवादी आफै सरकारबाट हटे हुन्थ्यो भन्ने प्रष्ट संकेत आफूहरूले दिइसकेको प्रमुख सचेतक भण्डारीको भनाइ छ । यद्यपि माओवादी नेताहरूले भने ‘मुख्यमन्त्रीले राजीनामा नमागेसम्म सरकार नछाड्ने’ अड्डी देखाइरहेका छन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापा पनि माओवादीले तत्कालै सरकार छाड्नुपर्ने बताउँछन् । ‘केन्द्रमा बनेको गठबन्धनअनुसार माओवादीले तत्कालै प्रदेश सरकार छाड्छ नभए मुख्यमन्त्रीले उसलाई हटाउनुपर्छ’, पूर्वमुख्यमन्त्री थापाले भने ‘अब संघको सरकारले आकार लिने बित्तिकै कोशीमा पनि नयाँ गठबन्धन कार्यान्वयन हुन्छ ।’ नेता थापाले प्रदेशमा नयाँ गठबन्धन कार्यान्वयन गर्ने विषयमा मुख्यमन्त्री कार्कीसँग कुराकानी भइरहेको र आफूहरू काठमाडौंबाट फर्केपछि त्यसलाई औपचारिक रुप दिने तयारी भएको बताए । केन्द्रमा बनेको सहमति प्रदेशमा कार्यान्वयन भएपछि कांग्रेस कोशीमा दुई महिनापछि सरकारमा फर्कनेछ ।
तत्कालीन मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिंदै एमाले र माओवादीले बैशाख २७ मा कोशीमा हिक्मतकुमार कार्की नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए ।
View : 304
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved