विराटनगर । सडक ठेक्का लिएको ठेकेदार कम्पनीले ढिलासुस्ती गर्दा विराटनगर वडा नं. ११ का सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
निर्माण कार्य अधुरो छाडेपछि स्थानीयवासी आक्रोशित भएका छन् । उनीहरूले धुलोको समस्याबाट आजित भएपछि सडक अवरुद्ध गर्दै विरोध जनाएका छन् ।
विराटनगर–११ अरुणोदय मार्गका स्थानीयले आइतबार सडकमा ढाट तेस्र्याएर बाटो अवरुद्ध गरेका हुन् । स्थानीय पिचरा चोकदेखि पञ्चमुखी चोकतर्फ जाने उक्त बाटो करिब तीन सय मिटरको छ ।
महानगरपालिकाले ठेक्का लगाई सकेको यो सडक ठेक्का लिने निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नुपरेको हो ।
विराटनगर–११ को वडा कार्यालय सामुन्नेको यो सडक हुँदै दैनिक दर्जनौ स्कुल बस गुड्छन । यस्तै केसलियातर्फ आउनेजाने टिपर लगायत सवारीसाधनका कारण उड्ने धुलोले स्थानीयको जनजीवन असहज भएको छ ।
बाटो बनाउन ठेकेदारलाई ताकेता गर्नुका साथै कयौं पटक वडा कार्यालय धाए पनि कसैले चासो नदिएको स्थानीय मणि दाहालले गुनासो गरे ।
सो बाटो छेउका स्थानीयको घरमा भएका फलफूलका बोटदेखि घरको छानो र कोठाहरूमा जताजतै धुलोले छोपेको अवस्था छ । धुलोका समस्याका कारण बालबालिका तथा ज्येष्ठ नागरिकहरूमा दम लगायतका फोक्सोको समस्या देखिएको स्थानीय मेनुका श्रेष्ठले बताइन् ।
यो सडकको निर्माणको ठेक्का विराटनगर–२ को विराट कालिका कन्सट्रक्सनले पाएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ३८ लाख ३८ हजार ७ सय १४ रुपैयाँमा सडक ठेक्का लागेको ११ नम्बर वडा कार्यालयले जनाएको छ ।
२०८० चैत १४ गते ठेक्का लागेको यो सडकको निर्माण कार्य ५ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता थियो । निर्माण कम्पनीले ११ नम्बर वडा कार्यालयदेखि पञ्चमुखी चोकसम्मको सडक कालोपत्रे र नालामाथि स्ल्याब निर्माण गर्नेगरी ठेक्का सम्झौता छ ।
कम्पनीले समयभित्र निर्माण सम्पन्न गर्न नसकेपछि म्याद थप गरिएको थियो । थप गरिएको म्यादअनुसार पनि कात्तिक मसान्तसम्म यो सडक कालोपत्रे भइसक्नुपर्ने थियो । निर्माण व्यावसायीलाई सम्झौताअनुसारको निर्माण कार्य सक्न पटक–पटक पत्राचार गरे पनि अटेर गरेको विराटनगर ११ की वडा सदस्य गायत्री थापाले बताइन् ।
निर्माण कम्पनीले हालसम्म ८ लाख १२ हजार ७ सय २५ रुपैयाँ बिल भुक्तानी लगिसकेको वडा कार्यालयले जनाएको छ । म्याद थप्दा समेत निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई आवश्यक कारवाही गर्नुका साथै अविलम्ब सडक कालोपत्रे गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
View : 58
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved