संविधान संसोधनको चर्चा कांग्रेसको ‘ब्ल्याङ्क फायर’
विराटनगर, १६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संविधान संसोधनको कुरा गरेर ब्याङ्क फायर गरेको टिप्पणी गरेका छन् । उनले संविधान संसोधन हुने स्थितिबारे कुनैपनि छलफल नगरी संसोधनको चर्चा गरेको बताएका हुन् ।
बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँगको सम्वादमा ओलीले संविधान संसोधनका लागि कांग्रेसको मात्रै प्रयासको कुनैपनि अर्थ नहुने बताए । उनले अहिलेको कांग्रेस प्रतिगामी सोचका साथ अघि बढेकोले पहिलेको जस्तो कांग्रेस खोजेर कसैले नभेट्ने बताए ।
‘संविधान संसोधन भनेर कांग्रेसले ब्ल्याङ्क फायर गरेको छ, के हिसाबले संसोधन गर्ने भनेको हो थाहा छैन’ ओलीले भने, ‘संविधान संसोधन गर्नका लागि त बोल्नुभन्दा अगाडि त्यो स्थितिलाई सम्भव तुल्याउने गरी कुन कुन बिषयमा के का लागि भन्ने कुरा चाहियो नि, अहिले कांग्रेसको ८७ सिटले संविधान संसोधन हुन्छ ?’
उनले कांग्रेसमा परिवर्तनका सोच नभएको बताए । सरकारमा पुग्ने र सत्ता टिकाउने बाहेक कांग्रेसले केही थाहा नपाउने बताए ।
‘हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर हिंड्यौं, तर कांग्रेस चैं एउटा राष्ट्रपति देउ अरु जम्मै लेउ भनेर सरकार बदल्नेतिर लाग्यो, त्यो बदलेपछि कांग्रेस अत्यन्तै उत्ताउलिएको छ, किन उत्ताउलिएको हो थाहा छैन, आफ्नो हैसियत नै थाहा छैन, संविधान संसोधन गर्छु भन्छ’ ओलीले भने, ‘अरु कुरा थाहा पाउन छोड्यो कांग्रेसले, पहिलेको कांग्रेस खोजेर भेटिंदैन, अहिलेको थोत्रो कांग्रेस हो ।’
ओलीले संविधान संसोधनको बिषयमा सवै दलहरुबीच सहमति आवश्यक रहेको बताए । उनले संविधान संसोधन आवश्यक हुनसक्ने तर एमालेसँग मात्रै आफ्नो स्ट्रेन्थ नपुग्ने भएकोले चुप लागेर बसेको बताए ।
ओलीले गठबन्धन खरानीको डल्लो भएकोले जे गर्दा पनि फुट्ने टिप्पणी गरे । ‘गठबन्धन खरानीको डल्लो हो, जे गर्दा पनि फुट्छ, यो सुक्यो भनेपनि फुट्छ, भिज्यो भनेपनि फुट्छ’ उनले भने, ‘गठबन्धन दम्भले बसेको छ, कसैको सुझावहरु सुन्दैन ।’
ओलीले अदालत र अख्तियारले काम गरिरहेको बताए । सरकारका मन्त्रीहरुले अदालतमा बयान दिन जाँदा झण्डा हल्लाएर जाने र फेरी फर्किएर धाक लगाउने गरेको टिप्पणी गरे । उनले मन्त्रीले नैतिकता बिर्सिएको बताए ।
‘सामान्य आरोप लाग्दा पनि राजिनामा गर्ने चलन हुन्छ, सामान्य बोलाइमा स्लिप भयो भने मन्त्रीले राजिनामा गर्छन्, शेर बहादुर तामाङले राजिनामा गरेको हो, गोकुल बाँस्कोटाले राजिनामा गरेको हो, पहिले कृषि मन्त्री हरि पराजुलीले हिलो खेल्दा मर्यादित देखिएन भनेपछि राजिनामा गरेको हो’ उनले भने, ‘आफ्नै क्याबिनेट बनाएको समितिले क्याबिनेट मन्त्री दोषी हो, मन्त्रीको दोषले गर्दा मान्छे मर्ने घटना भयो भनेपछि मन्त्रीले राजिनामा गर्नुपर्दैन ? निर्लज्ज भएर झण्डा हल्लाएर हिंड्ने ?’
उनले सत्य निरुपण तथा मेलमिलाप विधेयक छिट्टै पास गर्नुपर्ने बताए । उनले त्यसका लागि सवै दलहरुले सहमतिका साथ विधेयक पास गर्नुपर्ने बताए ।
‘टिआरसी विधेयक छिट्टै पास गर्नुपर्छ, एमालेले सहमति नगर्ने भन्ने हुन्छ र ? सवैले सहमति गर्नुपर्यो’ ओलीले भने, ‘एमालेले भनेको चैं अरुले मान्न नहुने, ठिक कुरा चैं मान्न नहुने, अनि बेठिकमा चैं एमालेले मान्नुपर्ने भन्ने त हुँदैन नि, सहमति हुनुपर्यो पास गर्नुपर्यो ।’
View : 238
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved