चुहार जिप दुर्घटना अपडेट
विराटनगर । भोजपुरको आमचोक जाँदै गरेको बोलेरो जिप दुर्घटनामा हताहतिको संख्या बढ्न सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । बिहीबार बिहान करिव साढे १० बजेतिर भएको दुर्घटनामा दुईजनाको ज्यान गइसकेको स्थानीयले बताएका छन् ।
सडकबाट चारवटा मोडहरू समेत कटेर जिप खोँचमा खसेका कारण उद्धार गर्न कठिनाइ भइरहेको जनाइएको छ ।
दुर्घटनास्थलमा उद्धार कार्यमा खटिएका स्थानीय मिलन सुभाराका अनुसार जिपमा सात जना जति मानिसहरू च्यापिएका छन् । केहि यात्रु जिपले नै थिचिएका छन् । उद्धार गर्न कठिनाइ भइरहेका कारण मृतकको संख्या बढ्ने उनले बताए ।
इटहरी– धरान हुँदै यात्रु लिएर भोजपुरको आमचोक जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनाका मृतकहरूको पहिचान खुलिसकेको छैन ।
उदयपुरको बेलका नगरपालिका– ७ स्थित उदयपुर र भोजपुर जोड्ने चुहार पुल जाने ओरालो सडकमा दुर्घटना भएको जनाइएको छ । दुर्घटनास्थलमा प्रहरी पुगिसके पनि उद्धार गर्न नसकेको जनाइएको छ ।
दुर्घटनामा जिपबाट उछिट्टिएका पाँचजना जति घाइतेहरूलाई कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि लैजाने तयारी भइरहेको जनाइएको छ ।
जिपमा एउटै घरका चारजना सहित १४ जना यात्रु रहेको खुलेको छ । प्रहरीले भने दुर्घटनामा मानिसहरुको मृत्यु भएको पुष्टि गरिसकेको छैन ।
View : 527
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved