मोरङ व्यापार संघको आयोजनामा पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगरमा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ भव्य रुपमा सम्पन्न भएको छ । यो एक्स्पो सम्पन्न गर्न संघको समग्र नेतृत्वको सामूहिक पहल देखिन्थ्यो । एक्स्पो सफल पार्न संयोजकको भूमिका संघका उपाध्यक्ष अनिलकुमार साहले पाएका थिए । संघको नेतृत्वमा १५ वर्षदेखि अवच्छिन्न रुपमा काम गर्दै आएका साहले एक्स्पो सफल पार्न सवै क्षेत्रको उल्लेख्य सहयोग रहेको बताएका छन् । यसै सन्दर्भमा उद्घोष दैनिकले संघका उपाध्यक्ष एवं एक्स्पोका संयोजक साहसँग गरेको कुराकानीः
मोरङ व्यापार संघले यस पटक संघकै नामबाट ‘एक्स्पो’ आयोजना गर्यो, संयोजकको जिम्मेवारी पाएपछि एक्स्पो कसरी सम्पन्न गर्नुभयो ?
हामीले विराटनगरमा विगतदेखि नै विभिन्न नाममा एक्स्पोहरू गर्दै आएका छौं । यस पटकदेखि मोरङ व्यापार संघले भने संघकै नाममा एक्स्पोलाई ब्राण्डिङ गर्यो । धेरैले किन संघले एक्स्पोको नाम परिवर्तन गरेको होला भनेर सोधे । तर यसको मुख्य उपलब्धि हामी केही वर्षभित्रै देख्ने छौं । ५/१० सालपछि मोरङ व्यापार संघले गरेको एक्स्पो भनेर त्यहीँबाट देखिन्छ । त्यही भएर हामी यस पटकदेखि संघकै नाममा एक्स्पो आयोजना गरेर अगाडि बढेका हौं ।
एक्स्पोको तयारी कसरी अघि बढाउनु भयो ?
हामीले जब एक्स्पो गर्ने निधो गर्यौं, सबैभन्दा पहिले क्यालेण्डर अगाडि राखेर छलफल गर्यौं । पुस ६ गते शुक्रबार पर्ने भएपछि शनिबारको छुट्टी, त्यसपछिको डिसेम्बरको २४ र २५ तारिक, त्यसपछि शनिबार, त्यसपछि अंग्रेजी नयाँ वर्ष भेटिने भएकाले त्यसलाई मध्यनजर गरेर काम गर्दा मान्छेमा उत्सुकता र उत्सव मनाउने वातावरण बन्छ भन्ने निष्कर्षमा पुग्यौं । विराटनगरवासीको समेत एक्स्पोमा सहभागिताको माहोल बन्ने बुझाइ बनाएर अघि बढ्यौं ।
हामीले विगतदेखि नै एक्स्पो गर्दै आएकोले सबैको सहयोगमा तयारी अघि बढायौं । हाम्रोमा एक वर्ष मोरङ व्यापार संघ र अर्को वर्ष उद्योग संगठनले एक्स्पो गर्ने परम्परा रहँदै आएको थियो । त्यसकारण यो पटक हामीलाई एक्स्पो गर्नु नै पर्ने बाध्यता थियो । हामीले त्यसपछिको प्रक्रिया अघि बढाएपछि सबै तयारी पूरा भयो ।
आर्थिक क्षेत्रमा देखिएको निराशाका बीच एक्स्पो सफल हुन्छ भन्ने विश्वासमा कसरी पुग्नुभयो ?
एक्स्पो गर्ने तर कहालीलाग्दो मन्दीको बेला भो । व्यापारीहरूसँग पैसा नभएको बेलामा पनि हामीमा एक्स्पो गर्ने भन्दै अगाडि बढ्ने निधो भयो । पहिलो कुरो के आयो भने यसपाली विराट नर्सिङ होम पूर्वपट्टि एक्स्पो नगरेर जिल्ला प्रहरी कार्यालय छेउको जग्गामा गर्ने सल्लाह भयो ।
यस्तो मन्दीको बेलामा जब-जब स्टलका लागि व्यापारी व्यवसायीहरूसँग कुरा हुने गर्थ्यो, कोही पनि व्यवसायीहरूले आफ्नो स्वेच्छाले स्टल राख्न मान्ने अवस्था थिएन । यस्तो कुराले हामीबीच हुन सक्छ असफल पो हुन सक्छौं कि भन्ने पनि लाग्यो । मनमा भय भयो । मैले संयोजकको नाताले पनि आँट गर्नुपर्छ भन्ने लाग्यो । पुरानै ठाउँमा एक्स्पो गर्ने निर्णय भएपछि उक्त ठाउँलाई राम्रो बनाउनेतिर लाग्यौं । त्यसपछि त स्टलहरूको माग आउन थालिहाल्यो । अन्तिम समयमा स्टलका लागि धेरै माग पनि आयो । हामीले केही ठाउँ थपेर भए पनि एक्स्पोलाई सबैको अपनत्व प्रदान गर्यौं ।
एक्स्पोको आयोजना गर्नुअघि र समापन भएपछिको मूल्यांकनका आधारमा यो एक्स्पो कस्तो रह्यो ?
यस पटक एक्स्पो गरेको ठाउँमा हामीलाई स्टल राख्न बाहेक साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्न ४५ हजार वर्गफिट ठाउँ उपलब्ध हुँदै आएको थियो । हामीले पनि के कस्तो गतिविधि गर्ने, कसरी गर्ने भनेर एउटा ले-आउट गर्यौं । हिजोसम्म जति पनि एक्स्पो भएका थिए, त्यसको हिसाबमा फरक रुपमा डिजाइन गर्यौं । एउटै ह्याङ्गरमुनि सबै स्टल अटाउने गरी तयारी गर्यौं । पहिले हामी ४५ हजार वर्गफिटमा साँस्कृतिक कार्यक्रम गरेको थियौं भने यसपटक त्यही ठाउँमा ६५ हजार वर्गफिट ठाउँ निकाल्यौं । यसले हामीलाई आँट आयो । भीड कन्ट्रोल गर्न सक्छौं भन्ने भयो । तर एक्स्पो सुरु भएपछि त्यो ठाउँ पनि नपुग भयो भन्ने लाग्यो । मान्छे यतिधेरै आए कि त्यो ठाउँ नपुग भएर, अन्तिम दिन त अब मान्छे नआइदिउन् भन्ने समेत महसुस गरें । अन्तिम दिन साढे ९ बजेसम्म पनि मान्छेहरूको ओइरो लागेको थियो । हामीले ३० हजार वर्गफिटको सिंगल डोममा सबे स्टल पनि अटाएका थियौं ।
यस्तो मन्दीको बेलामा अटोमोबाइल्सलाई प्राथमिकता दिएर ठाउँ दिनुभयो, कस्तो व्यापार रह्यो ?
हामी अटोको स्टल राख्दा सोचेका थिएनौं कि ५० प्रतिशत पनि स्टल जान्छन् भनेर । तर हाम्रो शतप्रतिशत अटो स्टल बिक्री भयो । वहाँहरूले पनि धेरै ग्राहकको सुझावहरू प्राप्त गरेको जानकारी दिनुभयो । व्यापार गरेको कुरा भन्नुभयो । यस्तो मन्दीलाई व्यापारमा रुपान्तरण गर्न अटो क्षेत्रले धेरै मद्दत गर्यो ।
फुड स्टलको व्यापार कस्तो भयो ?
यसपाली हामीकहाँ फुडकोर्ट जति हुनुपर्ने थियो, त्यो कमै थियो । फुडकोर्टमा पनि धेरै मानिसहरूको आकर्षण देखियो । वहाँहरूले राम्रो व्यापार गर्नुभयो । फुडकोर्डमा सुरुमा त ९ बजेपछि एउटा ममको टुक्रा पनि पाउन छाडेको थियो, यति धेरै व्यापार गर्नुभयो वहाँहरूले । बनाउने बित्तिकै खानेकुराहरू बिकिसक्थ्यो । त्यसपछि वहाँहरूले पनि आफ्नो क्षमता विस्तार गर्नुभयो । मनोरञ्जन पार्कका पनि व्यापार राम्रो भयो । मानिसहरूले खुसी व्यक्त गरे । लगानी गर्ने सबैले प्रतिफल पाउनुभयो । यो कुरा त हाम्रो अर्को सफलता बन्यो ।
उद्घाटनदेखि समापनसम्मको गतिविधि कस्यो रह्यो ?
एक्स्पोको उद्घाटन भव्य भयो । सम्माननीय प्रधानमन्त्रीज्युलाई उद्घाटनमा उपस्थिति गराउन तयारी गरेका थियौं । मेहनत गरियो, सफल भयो । विराटनगरमा संघले आयोजना गरेको एक्स्पोमा प्रधानमन्त्रीज्युले पहिलो पटक उद्घाटन गर्नु भएको हो । हाम्रो लागि यो ठूलो उपलब्धि भयो । ठूलो सफलताको रुपमा लिएका छौं ।
उद्घाटनको बेलामा यस क्षेत्रको समस्याहरूका बारेमा धेरै विषयहरू उठे । प्रधानमन्त्रीज्युले बोल्नु पनि भयो । वहाँले हामी विराटनगरलाई केही कुरा दिएर जानुभयो । यो मोरङ व्यापार संघमार्फत भएको उपलब्धि मान्नुपर्छ । रिङरोडका कुरामा बोल्नुभयो । रेलवेको बारेमा पनि भन्नुभयो । यो अवसर यस क्षेत्रकै लागि उपलब्धिमूलक भयो ।
समापनमा पनि हाम्रो उद्योग वाणिज्य क्षेत्रसँग सबैभन्दा नजिक रहेको अर्थ मन्त्रालयको नेतृत्वकर्तालाई नै सहभागी गराएर अर्को उपलब्धि प्राप्त गर्यौं । हामीले वहाँलाई पनि डेडिकेटेड लाइनको विवाददेखि धेरै कुरा राख्ने अवसर पायौं । जसले गर्दा वहाँलाई पनि यसको समाधान गर्न र निर्णय गर्न सहयोग पुग्यो । एक्स्पो अत्यन्तै सफल भयो ।
अवलोकनकर्ताको सहभागिता कस्तो पाउनु भयो ?
मैले त एक्स्पोहरूमा यति मान्छे विराटनगरमा आएको देखेकै छैन । तीन लाख बढी मान्छेले एक्स्पोको प्रत्यक्ष अवलोकन गरे । हामीले ४२ कट्ठा क्षेत्रफलमा पूरै कार्पेटिङ गरेर धुलोमुक्त स्थल निर्माण गरेका थियौं । सरसफाइमा मेहनत र लगानी गर्यौं । फिल्डलाई भ्याकुम लगाएर सफा गर्यौं । त्यही भएर एक्स्पो अवलोकनका लागि आउनेहरूले कार्पेटमा बसेर खानेकुराहरू किनेर पिकनिकजस्तो गरेर रमाइलो गर्नुभयो । जोसुकैले पनि एक्स्पोभित्र पारिवारिक वातावरण पाउनुभयो ।
एक्स्पोमा आइफिल टावर, आकर्षक मौलिक कलासंस्कृतिको गेटदेखि घोडा सवार, मुर्रा भैंसी आकर्षणका केन्द्र बने । सदनदेखि सडकसम्मै चर्चा भएको मुर्रा भैंसी त स्वयं प्रधानमन्त्रीले नै हेर्नुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजी सेक्युरिटी व्यवस्थापन मिलेर हामीलाई सुरक्षामा कुनै अप्ठेरो हुन दिनु भएन । ठाउँ नै भरिने गरी टिकट पनि बिक्री भयो । ज्येष्ठ नागरिकलाई निःशुल्क गर्यौं । विद्यालय र कलेजका विद्यार्थीहरूलाई निःशुल्क अवलोकनको मौका दियौं । सबै क्षेत्रका मानिसहरूले एक्स्पोको अवलोकन गर्नुभयो ।
एक्स्पोको राम्रो गरी नेतृत्व गर्नुभएको हो भने त्यसमा कतिको सन्तुष्ट हुनुभयो ?
हामीले विगतको अनुभवका आधारमा पनि पूर्ण रुपमा सबे मिलेर एक्स्पो सफल पारेका छौं । हामी सबै सफल भएका छौं । आफैंले मूल्याकंन गर्नेभन्दा पनि विराटनगरवासीले सबै हेर्नुभएको छ । एक्स्पोभित्रका सबै कुरा निर्विवाद रुपमा सञ्चालन भएकोले एक्स्पो शतप्रतिशत सफल भएको अनुभूति भएको छ ।
संघले केही समयभित्रै आफ्नो साधारण सभा पनि गर्दैछ, एक्स्पोको सफलताले तपाईको आगामी नेतृत्वको कुरालाई पनि जोडेर लैजान्छ ?
एक्स्पो र साधारणसभा जोडेर लैजाने पक्षमा म छैन । यसलाई हामीले लिंक बनाउनु हुँदैन । यो कुनै पनि मापदण्ड होइन, एक्स्पो त इभेन्ट हो, सफलता प्राप्त भएको हो । आज मैले नेतृत्व गरेको थिएँ, भोलि अरु साथीहरूले पनि गर्नुहुन्छ । त्यसले गर्दा एक्स्पोबाटै संघकै नेतृत्वको कुरा जोड्नु हुँदैन ।
मेरो हकमा एउटा कुरा दाबी गरेर चाहिँ भन्छु कि, आजभन्दा १५ वर्षअघिदेखि सदस्य हुँदै यहाँसम्म पुगेको छु । मैले धेरैवटा टिमसँग काम गरिसकेको छु । मैले नेतृत्वकै लागि आफूमा कुनै कमी छ भन्ने लाग्दैन । तर त्यो कुरा त पूर्व नेतृत्वहरूले पनि मूल्यांकन गर्नुहोला । मेरो ठाउँमा अरु सक्षम साथीहरू पनि हुनुहोला । एक्स्पोलाई नै नेतृत्वमा जोड्नु म उचित मान्दिन । किन भने मलाइ यहाँसम्म ल्याइपुर्याउन पनि अघिल्लो नेतृत्वकै महत्त्वपूर्ण साथ छ ।
कसको प्रेरणाले संघसँग यति नजिक भएर नेतृत्व गर्दै आउनु भयो ?
मलाई महेश जाजूज्यूले प्रवेश गराउनु भयो । वहाँकै नेतृत्वमा कार्यसमिति सदस्य भएर संघमा प्रवेश गरेको हो । त्यहाँदेखि प्रवेश गरेपछि नै मैले आफूलाई मोरङ व्यापार संघका हरेक गतिविधिमा सक्रिय बनाएर काम गरेको छु । आफू एक्टिभ भएर दायित्व पूरा गरेको छु । दायित्वको सीमितता भए पनि त्यो भन्दा अगाडि बढेर काम गरेको छु । मलाइ जहिले पनि संघको हितबारे काम गर्ने सोच आइरहन्छ । सदस्य भएर पनि संघको प्रतिनिधित्व गरेर महसुस हुन्थ्यो । आज उपाध्यक्ष छु, अहिले पनि सिंगो संघकै प्रतिनिधित्व गर्छु । मैले दुई कार्यकाल सदस्य भएर काम गरें, दुई कार्यकाल सचिव भएको छु । एक कार्यकाल महासचिव भएँ र अहिले उपाध्यक्ष रहेको छु । संघभित्र अलग–अलग परिस्थिति देखिएको बेलामा पनि मेरो नाममा सर्वसम्मत भएका घटनाहरू छन् । यस कारण मैले सबैको भावना समेट्न सक्छु भन्ने विश्वास अझै पनि राखेको छु ।
View : 125
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved