Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेससँग तिक्तता बढ्न दिदैनौँ : मुख्यमन्त्री कार्की

मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताए ।
उद्घोष सम्वाददाता
४ जेठ २०८१, शुक्रवार

विराटनगर । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग तिक्तता बढ्न नदिने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार भएपछि नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले सरकारको तर्फबाट तिक्तता बढाउने गरी कुनैपनि काम नहुने बताएका हुन् ।

‘हामी वहाँहरूसँग तिक्तता बढ्न दिँदैनौं, हाम्रो तर्फबाट हुन दिँदैनौं’ मुख्यमन्त्री कार्कीले भने, ‘वहाँहरूले बढाउनु भयो सम्झाउँछौ बुझाउँछौ, होइन बढाउने नै हो भन्ने हो भने त हाम्रो के लाग्छ र ।’

मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता सुशासन भएको बताए । उनले सुशासन कार्यन्वयनका लागि सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट केन्द्रित गर्ने बताएका हुन् ।

‘सरकारको पहिलो प्राथमिकता सुशासन हो, त्यसको लागि वार्षिक नीति तथा कार्यक्रम ल्याउने बेला भएको छ’ उनले भने, ‘सुशासन अभिव्यक्त हुने गरी र प्रदेश संरचनालाई जनताले बुझ्ने गरी हामी नीति कार्यक्रम र बजेट बनाउने तयारीमा छौं ।’

मुख्यमन्त्री कार्कीले आफूले राखेको एउटा मन्त्रालयमा आवश्यक पर्दा मन्त्री नियुक्ति भइहाल्ने बताए । केन्द्रीय सत्ता सन्तुलनका कारण सरकारमा आउन चाहने दलहरूका लागि ठाउँ राख्नुपर्छ भनेर उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा अहिले मन्त्री नियुक्त नगरिएको बताए ।

फागुनमा जुन सत्ता समीकरण परिवर्तन भएको छ, त्यो परिवर्तनमा जुन राजनीतिक दलहरूको समीकरण छ, त्यसमा आउन चाहने दलहरूका लागि पनि केही ठाउँहरू राख्नुपर्छ भन्ने मान्यता राखेका छौं’ उनले भने, संवाद गर्दै जान्छौँ, मन्त्री नियुक्त गर्नुपर्यो भने सरकार पुनर्गठन गरेर कसैलाई कुनै दललाई थप्छौं, भएन भने पनि समय अनुसार त्यसलाई मिलाउँछौं ।’

उनले कोशीमा अहिले पनि सहमतीय सरकार आफ्नो एजेण्डा भएको बताए । तर सहमतीय नाममा आफु अघि बढ्ने र अरुलाई पछि पछि समर्थन गराउन लगाउने गरी आफूले नसोचेको बताए । सहमतीय सरकार बन्दा सबैको सहकार्य हुने गरीको हुने र त्यसका लागि एमाले तयार रहेको बताए ।

मुख्यमन्त्री कार्कीले अहिलेको सत्ता समीकरण फागुन २१ बाट सुरु भएर अघि बढेको र यो शक्ति सन्तुलन अब साढे तीन बर्ष रहने र निर्वाचनपछि पछि पनि नयाँ ढंगले जाने बताए । त्यसैका कारण समीकरण पनि नटुट्ने दाबी गरे ।

View : 197

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved