वाशिङटन डिसी, ३१ भदौ । नेपाली भाषालाई भावी पिँढीका लागि उपयोगी बनाउन अहिलेदेखि नै काम गर्नुपर्ने साहित्यिक क्षेत्रका प्रबुद्ध व्यक्तिले जोड दिएका छन् ।
यहाँस्थित नेपाली दूतावासले आइतबार मोति जयन्तीका अवसरमा आयोजना गरेको छलफल तथा कवि गोष्ठी कार्यक्रममा सहभागी लेखक, साहित्यकार र कविहरूले विश्वभरि नेपाली भाषाको जगेर्ना, पठनीय र लेखनीय बनाउन स्रष्टाको महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यवाहक राजदूत कुमारराज खरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा डायस्पोराको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा सहभागी वक्ता वसन्त श्रेष्ठले विगत वर्षहरूमा दूतावासले भाषा र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डेले भाषाको माध्यमबाट मातृभूमिको सम्बन्ध मजबुत हुने भएकाले दोस्रो पिँढीलाई समेत नेपाली भाषा सिकाउन अनुरोध गरे । दूतावासका उत्तम घिमिरे, साहित्यकार गण्डकी पुत्र, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायतले मन्तव्य राखेका थिए ।
कविहरू तीर्थराज पाण्डेय, गोविन्द गिरी ‘प्रेरणा’, मधुकर अधिकारी, सुदीप भद्र खनाल, जगन्नाथ पौडेल, तारा पराजुली, अशोकनाथ तिवारी, मनोज खड्का, शरद निरौला, प्रेम सङ्ग्रौला, पुष्पा खनाल, लोक नाथ तिवारी, मञ्जु सङ्ग्रौला, नारायण अधिकारी, वासु श्रेष्ठलगायतले आ–आफनो रचना पाठ गरेका थिए ।
यसैगरी, डिवी राना, प्रवीन खड्का, सन्तोष शर्मा, परशु तिमिल्सेना, सीता पाण्डे र काशिनाथ न्यौपानेले पनि कविता पाठ गरेका थिए । रासस
View : 382
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved