Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक: प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

उद्घोष सम्वाददाता
२८ जेठ २०८१, सोमवार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यहरूमा चारजनालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यहरूमा डा. सिताराम बस्नेत, किशोर कुमार राई, भवानी बराल र नमिता न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले बताए ।

आयोगका उपाध्यक्षमा भने यसअघि नै डा. राजेन्द्र अधिकारी नियुक्त भइसकेका छन् । सरकारले नियुक्त गरेका सदस्यहरूमा डा. बस्नेत काठमाडौं निवासी हुन् । 

सोलुखुम्बु निवासी राई हाल धरानमा रहँदै आएका छन् । उनी एमालेको कोटामा सदस्य मनोनित भएका हुन् । खोकु छिन्ताङ दुख्यो कि भन्ने गीत गाएर चर्चित भएका राई साहित्य तथा संगीत क्षेत्रमा नाम चिनिएका व्यक्ति हुन् ।

माओवादी केन्द्रको कोटाबाट बराल र न्यौपाने नियुक्त भएका हुन् । बराल पनि धरानकै हुन् । उनी पत्रकारिता तथा लेखन क्षेत्रको प्रतिनिधित्व गर्दछन् । न्यौपाने विराटनगर निवासी हुन् । उनी शिक्षा तथा बीमा व्यवसायमा संलग्न रहेकी छन् ।

मन्त्रिपरिषद् बैठकले कोशी प्रदेशमा विभिन्न पक्षहरूसँग वार्ता तथा संवादका लागि आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता टोली गठन गरेको छ । 

टोलीको सदस्यहरूमा भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रहेका छन् । 

सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेल रहने गरी वार्ता समिति गठन गरेको जनाइएको छ ।

View : 588

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved