Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा भूकम्प अपडेट : ओखलढुंगामा एउटा घर पूर्ण क्षति, अहिलेसम्म ६ घर भत्किए

ताप्लेजुङमा इलाका प्रहरी दोभानको क्वाटरमा क्षति
उद्‌घोष सम्वाददाता
२३ पुष २०८१, मङ्गलवार

विराटनगर । नेपालसँग सिमाना जोडिएको चीनको तिब्बतको सिगात्से शहर आसपास केन्द्रविन्दु भनिएको शक्तिशाली ७ दशमलव १ म्याग्निच्युडको भूकम्पका कारण कोशी प्रदेशका केही पहाडी र हिमाली जिल्लामा पनि क्षति भएको खुलेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ओखलढुंगा एउटा घर पूर्ण रुपमा भत्किएर क्षतिग्रस्त बनेको छ । यद्यपि मानवीय क्षति भने अहिलेसम्म कतै नभएको जनाइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ शिरिसेका इन्द्र बहादुर परियारको घर पूर्णरूपमा भत्किएको जानकारी प्राप्त भएको बताए । उनले ओखलढुंगाकै सिद्धीचरण नगरपालिकाको चुहानछापका स्थानीय हिमाल कार्कीको घर समेत चर्किएर क्षति पुगेको बताए ।

ओखलढुंगा बाहेक हिमाली जिल्ला सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा पनि ४ वटा घरहरुमा भूकम्पले क्षति आंशिक रुपमा पुगेको जनाइएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङल्ह्यामु गाउँपालिका–५ हेलाबुङका आङ ङिमा शेर्पाको घर भत्किएको छ ।

त्यस्तै संखुवासभाको भोटखोलामा तेन्जिङ शेर्पाको घर पनि भूकम्पले भत्काएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

सोलु प्रहरीले जानकारी आएका ठाउँमा उद्दारका लागि टोली तयारी अवस्थामा राखेको जनाएको छ । क्षति भएका स्थानमा उद्दारको काम समेत भइरहेको जनाएको छ । 

ताप्लेजुङको इप्रका दोभानमा क्षति

यसैबीच, ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको एउटा भवन भत्किएको जनाइएको छ । कार्यालय प्रमुख बस्दै आएको क्वाटर चर्किएर क्षति पुगेको प्रहरीले जनाएको छ ।

View : 137

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved