Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

प्रदेशमा वाम सहकार्य :

कोशीको मुख्यमन्त्रीमा नेकपाका आङ्बोको दाबी

उद्‌घोष संवाददाता
७ साउन २०८३, बिहिवार

Advertisement

विराटनगर । नेकपा एमाले र नेकपाबीच प्रदेशहरुमा सत्ता सहयात्रा गर्ने सहमति भएपछि कोशीमा दुवै दलले नयाँ सरकारको नेतृत्व दाबी अघि सार्ने तयारी गरेका छन् । 

कोशीमा नयाँ सरकार बने कसको नेतृत्वमा भन्ने विषयमा दुवै दल प्रवेश गरिसकेका भने छैनन् । तर, सहकार्यको सम्भावना उच्च भएपछि आ–आफ्नो पक्षमा लविइङ भने दुवैतर्फबाट सुरु भइसकेको छ । 

नेकपाका नेतासमेत रहेका कोशीका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशमा लामो समय एमालेलाई नेकपा (तत्कालीन माओवादी) ले सहयोग गरेका कारण यसपटक नेकपाले मुख्यमन्त्री दाबी गर्ने बताए । 

‘हाम्रो स्वाभाविक रुपमा कोशीमा दाबी रहेको छ,’ उनले भने ‘हामीले संसदीय दलका नेता इन्द्र आङ्बोलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेका छौं ।’ तर, यो विषयमा एमालेसँग अहिलेसम्म कुनै छलफल नभएको राईले बताए । 

मंगलबारयता नेकपा संयोजक प्रचण्ड मधेशमा भएका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको भेट भएको छैन । त्यसैले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे छलफल नभएको हो । 
नेकपा र एमालेबीचको सहकार्यको सहमति पछि बागमती प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

कोशीमा पनि वाम गठबन्धनको सरकार बनाउने गृहकार्य सुरु भएपछि नेकपाले मुख्यमन्त्रीको अडान राखेको हो । 

नेकपा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नेतृत्वका लागि आफूहरूले बलियो अडान राखेको बताए । 

एमालेले पटकपटक नेतृत्व गरिसकेकाले सत्ता सहकार्य गर्दा नेकपाले पालो पाउनु पर्ने उनको तर्क छ । 

‘कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारले चारवटा बजेट ल्याइसकेको छ । अब नयाँ सहकार्य हुने हो भने नेतृत्व नेकपाले पाउनुपर्छ भन्ने सर्त हामीले नेतृत्वलाई राखेका छौं,’ आङ्बोले भने, ‘अध्यक्ष प्रचण्डले यसमा सकारात्मक जवाफ दिनुभएको छ । बिहीबार एमाले अध्यक्ष ओलीसँग हुने थप छलफलपछि यसको टुङ्गो लाग्नेछ ।’

नेकपाले सरकारको नेतृत्व दाबी गरिरहेका बेला एमालेभित्र भने अर्को सकस छ । एमाले अध्यक्ष ओली मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर ताप्लेजुङका नेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने ध्येयमा छन् । 

तर, पछिल्लो समय ओलीविरुद्ध अभियान चलाइरहेका महासचिव शंकर पोखरेलसहितका नेताहरु भने कार्कीकै निरन्तरताको पक्षमा छन् । एमालेभित्रको शक्ति संघर्षको परिणाम कस्तो आउँछ भन्ने कुराले कोशीमा सरकारको नेतृत्व कसले पाउने भन्ने विषय तय हुने नेताहरुको भनाइ छ । 

‘हामीले त पार्टीको प्रदेशलाई नै निर्णयको अधिकार दिनुपर्छ भनेका छौं,’ एमालेबाट मन्त्री रहेका कोशीका एक नेताले भने ‘प्रदेशमा एउटा अवस्था हुन्छ । केन्द्रले अर्कै निर्णय गरेर कार्यान्वयन गर्नु भन्छ । यसले सरकार सञ्चालनमा सधैं समस्या ल्याउने गरेको छ ।’

एमालेका एक केन्द्रीय सदस्यका अनुसार, अध्यक्ष ओलीले हिक्मत कार्कीलाई रोक्नकै लागि नेकपालाई नेतृत्व सुम्पिने सम्भावना पनि छ । 

‘तर एमालेको पहिलो प्राथमिकता आफ्नै नेतृत्व हो,’ ती नेताले भने, ‘अध्यक्षज्यू हिक्मत कार्कीको निरन्नरताको पक्षमा चाहिं हुनुहुन्न ।’

एमाले र नेकपाबीचको नयाँ समीकरण तय भएसँगै कांग्रेसले प्रतिपक्षमा बस्ने तयारी गरेको छ । 

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सरकार छाड्न केन्द्रको निर्देशन पर्खिरहेको जानकारी दिए । 

‘केन्द्रको निर्देशनका कारण मन्त्रीहरूको राजीनामा केही समय रोकिएको हो,’ तामाङले भने, ‘केन्द्रले निर्देशन दिनासाथ कार्यान्वयन हुन्छ ।’ 

केन्द्रले दिएको निर्देशन अनुसार नै कोशी प्रदेशको संसदीय दलसहितको संयन्त्रले यसअघि नै एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरिसकेको छ ।

View : 175

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved