सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको सभाकक्षमा भएको एक कार्यक्रममा सुकुना क्याम्पस र ग्लोवल इन्टरनेसनल कलेजलाई गुणस्तर सुनिश्चितता प्रमाणपत्र अवार्ड प्रदान गरिएको सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।
प्रमाणपत्र वितरण कार्यक्रममा आयोगकी निर्देशक प्राडा रेजिना मास्केले स्वअध्ययन भ्रमणको अनुभव र दुवै क्याम्पसका प्रतिवेदनको सारांश प्रस्तुत गरेकी थिइन् ।
समारोहमा त्रिभुवन विश्वविद्यालयका निर्देशक डा प्रेम थापा र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुब गौतमले दुवै क्याम्पसहरूलाई बधाई ज्ञापन गरेका थिए ।
सुकुना क्याम्पसको स्वअध्ययन टोलीका प्रमुख एवम् त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थराज खनियाले सुकुना क्याम्पसमा पहिलो पटक तीन दिन र दोस्रो पटक पाँच दिन स्थलगत अध्ययन भ्रमण गर्दाका अनुभवहरू प्रस्तुत गर्दै क्याम्पसले गुणस्तर कायम गर्नका लागि गरेका प्रयासबाट आफू पूर्ण सन्तुष्ट भएको बताए ।
प्राडा मनप्रसाद वाग्लेले सुकुनाले तिब्र विकास गरेको भन्दै बधाई ज्ञापन गरेका थिए । सुकुना क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले आगामी दिनमा क्याम्पसले अझै नवप्रवर्तन कार्यक्रम गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने, गुणस्तरमा बढोत्तरी गर्ने, अटोनोमिका कार्यक्रम सञ्चालन गर्ने बताए ।
समारोहमा अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले सुकुना क्याम्पसका सबै गतिविधिबाट आयोग सन्तुष्ट भएको बताउँदै क्याम्पसलाई बधाई दिए ।
सो अवसरमा क्याम्पसलाई दोस्रो चरणको गुणस्तर सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । सुकुना बहुमुखी क्याम्पसको तर्फबाट अध्यक्ष केशव अधिकारी, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईं, लेखा समितिका संयोजक चन्द्रप्रसाद फुयाँललगायतले संयुक्तरूपमा प्रमाणपत्र ग्रहण गरेका थिए ।
View : 71
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved