Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

नमोनारायणको मनोमानीमा अदालतको अर्को रोक (आदेशसहित)

वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारीविरुद्ध अन्तरिम आदेश
उद्‌घोष सम्वाददाता
२८ चैत २०८१, बिहिवार

विराटनगर । मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कानुन विपरित वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णयलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेशमार्फत रोकेको छ । कानुन विपरित कार्यावाहकको जिम्मेवारी दिएको भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।

उपाध्यक्ष गुणवतीदेवी थारू गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएर माओवादीका नेताहरूसहितको टोलीमा चीन भ्रमण गएका थिए । माओवादीबाटै वडाध्यक्ष जितेका भगतलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उपाध्यक्ष थारुले उच्च अदालत गुहारेकी थिइन् ।

उच्च अदालत विराटनगरका न्यायधीस ध्रुवराज नन्दको एकल इजलासले बिहीबार उपाध्यक्ष थारुको रिटमाथिको सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ ।

गाउँपालिकाको उपाध्यक्षको पदमा बहाल रही रहेको अवस्थामा निजले प्रयोग गर्न पाउने अधिकारबाट वञ्चित हुने स्थिति सृजना भएको प्रथम दृष्टिबाटै देखिएकोले अध्यक्षको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन भन्ने व्यवस्था अन्तर्गत उपदफा (४) को (क) मा अध्यक्ष वा प्रमुखको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ भन्ने प्रावधानको देहाय (१२) मा सातदिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने भन्ने समेतको व्यवस्था गरेको र सोही दफा १६ (४) को देहाय (ख) (२) मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने भनी उपाध्यक्षको काम, कर्तव्य र अधिकार तोकिएको पाइएको’ भन्दै अदालतले कानुनी प्रबन्ध सम्झाएको छ ।

अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष उपलब्ध हुन्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्षले पाउने आफ्नो पूर्व आदेश अदालतले दोहोर्याएको हो । यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकामा समेत यस्तै प्रकरणमा अदालतले उपप्रमुखको अधिकार सुनिश्चित गरिसकेको छ ।

अदालतको आदेशमा भनिएको छ ‘गाउँपालिकाका अध्यक्ष मिति २०८१।१२।२६ बाट विदेश मुलुक चीन भ्रमणमा गई फर्की नआउँदासम्म वहालवाला उपाध्यक्ष रिट निवेदकले अध्यक्षको कार्यभार सम्हाल्न पाउने नै हुँदा प्रत्यर्थी अध्यक्ष नमो नारायण माझीले वडा अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च.नं. १९६९ मिति २०८१।१२।२५ को पत्र र सो सम्वद्ध निर्णयहरु कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ । प्रस्तुत आदेशको जानकारी समेत विपक्षीहरुलाई दिनू ।’

मंसिरको उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएलगत्तै माझी अनेकौं विवादमा मुछिंदै आएका छन् । 

उनले माटो उत्खनन् रोक्न प्रहरीलाई पत्राचार गर्ने तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राम राज पौडेललाई स्पष्टिकरण सोध्नेदेखि नियमविपरित कार्यपालिकाको बैठक डाक्ने र उपाध्यक्ष र वडाध्यक्षहरूले चढ्दै आएका सवारी साधन माओवादी कार्यकर्तासमेत परिचालन गरेर खोस्ने लगायतका कार्य गरेर विवादित बनेका छन् । 

अध्यक्षले माझीले नियमविपरित कार्यपालिकाकाको बैठक राखेका कारण उच्च अदालत नै उनको त्यस कदमलाई अन्तरिम आदेशमार्फत रोकिसकेको छ । उनी लोहन्द्रा खोलाको ढुंगा गिट्टी बालुवा ठेक्का लगायतका सार्वजनिक सरोकारका अनेकौं विवादमा मुछिंदै आएका छन् ।

आदेश पढ्नुहोस्

View : 296

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved