Biratnagar, Morang, Nepal
२० जेठ २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

एकैदिनको बाढीले सात सडकमा ठूलो क्षति, सयौं परिवार प्रभावित

उद्‌घोष सम्वाददाता
१८ जेठ २०८२, आइतवार

विराटनगर । बढ्दो तापक्रमले लगातार बढाएको गर्मीका बीच शुक्रबारदेखि पूर्वी नेपालबाट मनसुन भित्रिएको खबरले कोशी प्रदेशको मैदानी भूभागका बासिन्दालाई हर्षित तुल्याएको थियो ।

तराईका सर्वसाधारणले गर्मीबाट राहत पाउने आशासहित प्रकट गरेको त्यो खुसी प्रदेशका पहाडी भेगका बासिन्दाका लागि ठूलो कहर सावित भएको छ । 

मनसुन भित्रिएकै दिन शुक्रबार रातभरी दर्केको झरीले बाढी निम्त्याउदा कोशी प्रदेशका सात वटा सडकमा ठूलो क्षति पुर्‍याएको छ ।

यही क्षतिका कारण शनिबार दिनभरी ती सात सडक क्षेत्रसहित पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउ“मा यातायात सेवा अवरुद्ध हुन पुग्यो ।

मनसुन सुरु भएको पहिलो दिन कुनै मानवीय क्षति नभएपनि सडक जस्तो अत्यावश्यक भौतिक संरचनामा बाढी र पहिरोले ठूलो क्षति गरेको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार बिहानैदेखि अवरुद्ध भएका सातमध्ये कोशी लोकमार्गका दुई ठाउँमा एकतर्फी रुपमा सडक सञ्चालन भएको छ । 

दुई वटा सडक सुचारु हुँदा तीन वटा सडकखण्ड भने वैकल्पिकमार्ग नहुँदा अझै खुल्न सकेका छै्रनन् । सामान्यतया नेपालमा मनसुन भित्रने दिन जेठ मसान्त (जुन १३) लाई मानिन्छ ।

यसपालि भने १५ दिनअगावै कोशी प्रदेशबाट मनसुन भित्रिएको जलतथा मौसम विज्ञान विभागले जनाएको छ् । 

कोशी प्रदेश प्रहरी कार्यालयले शनिबार साँझ जारी गरेको बुलेटिन अनुसार शुक्रबार रातभरीको झरीले सबैभन्दा ठूलो क्षति कोशी लोकमार्गमा गरेको छ । 

धनुकटाको साँघुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना छेउमा पहिरो झरेपछि कोशी लोकमार्ग दिनभरी अवरुद्ध भएको थियो । 

सेना, प्रहरी, सशस्त्रप्रहरीको पहलमा साँझदेखि एकतर्फी सञ्चालन सुरु भएको छ ।

त्यस्तै साँघुरीगढी ६ फेदीस्थित लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको १०० मिटर पक्की बाटो भत्काएको छ । 

मुख्य राजमार्ग नै कटानमा परेपछि शनिबार दिनभरी पूर्वी पहाडसँगको सोझो यातायात सम्बन्ध पूर्णतः विच्छेद भएको थियो । यो लोकमार्ग पनि शनिबार साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

कोशी प्रदेशमा मनसुनको पहिलो दिन नै १२ घण्टाभित्र २०३ मिलिलिटर भन्दा माथि पानी परेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘भीषण बर्षाले मानवीय क्षति नगरे पनि भौतिक संरचना खासगरी सडकमा क्षति पुर्‍याएको छ’, कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीले भने ‘कोशी लोकमार्ग एकतर्फी रुपमा सञ्चालन गर्न सकियो, केही सुचारु भए । तीन वटा चाहि वैकल्पिक मार्ग नहुँदा सञ्चालन हुन सकेका छैनन् ।’

धनकुटाको चौबीसे गाउँपालिका–४ मा निर्माणाधीन सडकखण्डमा पर्ने छरुवा खोलाको बाढीले अवरुद्ध पारेको तमोर करिडोर वैकल्पिकमार्ग नभएकाले सञ्चालनमाआउन सकेको छैन । 

त्यस्तै साँघुरीगढी–५ डाँडा बजारको ढाडे डाँडामा झरेको पहिरोले रवि रा“के सडक दिनभरी अवरुद्ध भएको थियो । शनिबार सा“झदेखि यो सडक पनि सुचारु भएको छ । 

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१, नयाँपुल खोला किनारमा खसेको पहिरोले चतरा–बराहक्षेत्र सडक ठप्प भएको छ । वैकल्पिक मार्ग नभएका कारण यो सडक पनि अवरुद्ध नै छ ।

त्यस्तै इलामको माइ नगरपालिका –७ को पक्की सडक खण्डमा खसेको पहिरोले महमाइ–इलाम–लारुम्म्बा सडक दिनभरी ठप्प पारेको थियो । 

पहिरो पन्छाएपछि यो सडक पनि साँझबाट सुचारु भएको छ । उदयपुर जिल्लाको बेलका नगरपािलका–८ मा पर्ने कोठु खोलामा पर्ने कच्ची सडकमा खसेको पहिरोले मैनामैनी–चुहार–भोजपुर सडक ठप्प पारेको छ । यो सडकको पनि वैकिल्पक मार्ग नभएकाले सञ्चालन हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

अत्यधिक बर्षापछिको बाढीले स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा पनि ठूलो क्षति पुर्‍याएको छ । 

बाढीले निर्माणाधीन एशियाली राजमार्गका तीन वटा डाइभर्सन बगाएको छ । त्यसमध्ये काँकडभिट्टा कालीखोला र धाइजनको ढुकुरे खोला डाइभर्सन मर्मत भए पनि चारआली पश्चिम जंगलमा रहेको डाइभर्सन सुचारु हुन सकेको छैन । 

यसले गर्दा झण्डै चार किलोमिटर लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने स्थिति भएको झापा प्रहरी प्रमुखएसपी राजन लिम्बूले जानकारी दिएका छन् । 

बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन् । 

चारआलीको ‘एनिमल अन्डरपास’ बाहेक कालीखोला र ढुकुरे खोलाको डाइभर्सन मर्मत सम्भार गरेर यातायात चल्न सक्ने बनाइएको उनले जानकारी दिए ।

बाढीकै कारण झापाको झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माइखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।

वडाध्यक्ष हिमाल चम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै खेतीमा क्षतिपुगेको छ ।

View : 106

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved